कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध
मकवानपुर : मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार मध्य राति करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान ५:३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने कार्य सुरु गरी ६:३५ बजे सडक खुलाइएको छ।
त्यसलगत्तै बिहान ६:४५ बजे मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडा क्षेत्रमा पनि ठूलो पहिरो खसेर कान्तिलोकपथ पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।
हाल उक्त स्थानमा पहिरो हटाउने काम जारी रहेको र पहिरो ठूलो भएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा सिमसिम वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने कार्य प्रभावित भएको छ।
असार १६, २०८३ मंगलबार १०:३४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।