बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

लमजुङ : मनसुनजन्य विपद् र पहिरोको जोखिम न्यूनीकरण गर्न लमजुङमा आजदेखि असार मसान्तसम्म रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यात्रामा हुन सक्ने सम्भावित दुर्घटना र जनधनको क्षति कम गर्न यो निर्णय गरेको हो।

बेँसीसहर-चामे सडकखण्ड (मनाङको सिमानासम्म) प्रत्येक दिन साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछैन।

यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग (बिमिरे भञ्ज्याङ क्षेत्र)मा पनि प्रत्येक दिन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यस अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरू भने सञ्चालन हुन पाउनेछन्।

वर्षायाममा यी सडकखण्डहरूमा पहिरो गइरहने र सडक अवरुद्ध हुने समस्या रहेकाले सुरक्षाका लागि यो कदम चालिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।

असार १६, २०८३ मंगलबार ०७:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।