‘खुकुरी लिएर सिंहदरबार जान पनि तयार’ भनेको आधारमा होल्डिङ सेन्टरबाट पक्राउ परे सुकुमबासी

‘खुकुरी लिएर सिंहदरबार जान पनि तयार’ भनेको आधारमा होल्डिङ सेन्टरबाट पक्राउ परे सुकुमबासी

काठमाडौं : "सरकारले व्यवस्थापन नगरे खुकुरी लिएर सिंहदरबार छिर्न पनि तयार छु" भन्ने अभिव्यक्ति दिएको आधारमा थापाथलीबाट विस्थापित सुकुमबासी डम्बर तामाङ पक्राउ परेका छन्।

थापाथलीबाट विस्थापित बनाइपछि कीर्तिपुरस्थित सरकारी होल्डिङ सेन्टरमा बस्दै आएका तामाङलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। उनी हाल जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा छन्।

परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले तामाङ हिरासतमा रहेको पुष्टि गरे पनि उनलाई होल्डिङ सेन्टरभित्रबाट नभई नजिकैबाट पक्राउ गरिएको दाबी गरे। तामाङको हिरासत अवधि र आगामी कानुनी प्रक्रियाबारे भने प्रहरीले थप विवरण खुलाउन मानेन्।

सरकारले होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि शनिबार माइतीघरमा सुकुमबासी मोर्चाले विरोध प्रदर्शन गरेको थियो। सोही प्रदर्शनका क्रममा तामाङले आक्रोशित हुँदै सरकारले उचित विकल्पबिना अलपत्र पारे ‘खुकुरी लिएर हिड्छु, सिंहदरबार भित्र खुकुरी लिएर जान पनि तयार’ रहेको  अभिव्यक्ति दिएका थिए।  सोही अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरिएको हो। 

तामाङकी श्रीमती गायत्री तामाङका अनुसार प्रहरीले औषधिको बिलको पैसा फिर्ता दिने बहाना बनाएर दिउँसो साढे दुई बजे उनलाई होल्डिङ सेन्टरबाट लगेको थियो। 

“मेरो श्रीमान अलि बिरामी छन्। आँखा कम देख्न थालेका छन्। दुई महिना भन्दा बढी समय देखि होल्डिङ सेन्टरमा बसे देखि मानसिक सन्तुलन बिग्रिदै गएको छ। औषधिको बिलको पैसा फिर्ता दिन्छु भनेर प्रहरीले दिउँसो साढे दुई बजे तिर यहाँ(होल्डिङ सेन्टर)बाट लगेको थियो,” गायत्रीले भनिन्।

राति अबेर सम्म श्रीमान होल्डिङ सेन्टरमा नफर्के पछि मात्र प्रहरीले पक्राउ गरेको थाहा भएको उनले बताइन्।

सरकारले २५ हजार रुपैयाँ दिएर अलपत्र पार्न खोजेपछि रिसको झोकमा मुखबाट त्यस्तो शब्द निस्किएको र आफ्नो श्रीमान् साच्चै खुकुरी बोकेर हिँड्ने मान्छे नभएको बताउँदै गायत्रीले सरकारसँग माफी पनि मागिन्।

“२५ हजार दिएर हामीलाई सरकारले अलपत्र पार्न लागेको भनेर रिस पनि उठ्यो होला। बोल्दाबोल्दै मुखबाट त्यस्तो निस्केको मात्र हो। त्यसरी हिड्ने मान्छे होइन। म यतैबाट सरकारलाई माफी माग्छु। मेरो श्रीमानलाई सकुशल छोडिदिनु,” उनले भनिन्।

गायत्री आफैँ पनि मुटुको बिरामी छिन् र उनीहरूका ४ र ८ वर्षका दुई सन्तान छन्। उनीहरु परिवार सहित होल्डिङ सेन्टरमा बस्दै आएका छन्। 

यसैबीच, संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै तामाङको पक्राउलाई गैरकानुनी र अलोकतान्त्रिक भन्दै विनासर्त तत्काल रिहा नगरे चरणबद्ध र सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। उचित औषधोपचारको अभाव र अनिश्चित जीविकोपार्जनका कारण चरम मानसिक तनावमा रहेका उनले आफ्ना पीडा र समस्याहरू राख्ने क्रममा व्यक्त गरेका केही संवेगात्मक अभिव्यक्तिलाई आधार बनाएर राज्य संयन्त्रले उनलाई निसाना बनाएको मोर्चाको आरोप छ।

तामाङको पक्राउको विरोधमा उनको परिवार र अन्य सुकुमबासीहरूले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। 

असार १५, २०८३ सोमबार १८:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।