लुम्बिनी प्रदेशमा २५ लाख बिरुवा रोप्ने बृहत् अभियान सुरु
बुटवल : लुम्बिनी प्रदेशमा वातावरणीय सुधार र जैविक विविधता संरक्षणको लक्ष्यसहित बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ।
वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी र विभिन्न सामुदायिक वनहरूको संयुक्त सहकार्यमा यो अभियानको सुरु गरिएको हो।
अभियान अन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको छ भने सरकारी, निजी तथा सार्वजनिक गरी ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ।
आइतबार दाङको गढवा गाउँपालिका–२ स्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको औपचारिक उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र ठुलो कुरा नभई त्यसको संरक्षण गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए।
‘तपाई हामीले रोपेका बिरुवा अर्को वर्ष हुर्किएको देख्न पाउनुपर्छ’, उनले भने, ‘वन, वातावरण र जैविक विविधताको संरक्षणले नै मानव जीवन सुरक्षित हुन्छ । अहिले वातावरणीय चुनौती बढिरहेका बेला प्रकृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो।’
मुख्यमन्त्री आचार्यले वन क्षेत्र प्रदेश सरकारको राजस्वको समेत बलियो स्रोत भएको उल्लेख गर्दै यस वर्ष वन क्षेत्रबाट करिब एक अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए। उनले वनलाई जडीबुटी, काठ र दाउराको सदुपयोग मार्फत स्थानीयको आयआर्जन र विकासको आधार बनाउनुपर्नेमा जोड दिए।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट
निम्त्याउने चेतावनी दिए। उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य ठाउँमा मौवा प्रजातिका बिरुवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्त्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।
लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता रहेको बताइन्।
डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षारोपण सफल बनाउन वन क्षेत्रमा चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताए।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएको जानकारी दिए। ती बिरुवाको संरक्षण गर्ने जिम्मेवारी सामुदायिक वन र उपभोक्ताकै रहेको उनले उल्लेख गरे।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको सिर्जनामा तयार गरिएको वन संरक्षणसम्बन्धी गीतको समेत मुख्यमन्त्री आचार्यले सार्वजनिक गरेका थिए।
असार १४, २०८३ आइतबार १३:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।