साउदीमा नेपालीको सिप प्रमाणीकरण तत्काल रोक्न श्रम मन्त्री यादवको आग्रह

साउदीमा नेपालीको सिप प्रमाणीकरण तत्काल रोक्न श्रम मन्त्री यादवको आग्रह

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी अरबले लागू गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण  प्रक्रियालाई तत्काल रोक्न आग्रह गरेका छन्। 

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखर र प्रथम सचिव अब्दुल रहमान के. घोषोमसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्। 

उनले यो नयाँ प्रक्रियाका कारण उत्पन्न अन्योल सुल्झाउँदै नेपाली श्रमिकहरूको भिसा प्रक्रियालाई यथावत् रूपमा अगाडि बढाउन साउदी पक्षसँग अनुरोध गरे।

अहिले साउदी अरब जाने तयारीमा रहेका थुप्रै नेपाली श्रमिकहरू सिप प्रमाणीकरणको नयाँ नियम र अन्योलका कारण समस्यामा परेको भन्दै मन्त्री यादवले उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण मिलाउन ध्यानाकर्षण गराए। मन्त्री यादवले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषयहरू द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए।

जवाफमा राजदूत म्निखरले यसबारे आफ्नो सरकारसँग आवश्यक छलफल र परामर्श गरी छिट्टै थप जानकारी उपलब्ध गराउने आश्वासन दिएका छन्।

असार १३, २०८३ शनिबार १४:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।