वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

काठमाडौं : अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ।

कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशतले कम हो। गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।

देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि हालसम्म १ लाख ५६ हजार ५८३.६७ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ।

गत वर्षको तुलनामा भने लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा धान रोपाइँको गति सुस्त भएको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो। त्यसबेला कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत तथा सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

कृषि क्षेत्रका जानकारहरूले पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताएका छन्। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार पानी नपरेकाले खेतमा पर्याप्त चिस्यान नहुँदा किसानले रोपाइँलाई तीव्रता दिन नसकेको उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ। यो यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको ६९.६ प्रतिशत मात्रै हो। औसतभन्दा कम वर्षा भएकाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको निष्कर्ष छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। कृषिविज्ञहरूले आगामी दिनमा पर्याप्त वर्षा भए रोपाइँको गति बढ्ने अपेक्षा गरेका छन्।

असार १३, २०८३ शनिबार १०:३८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।