मौसम पूर्वानुमान : मुलुकभर मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी

मौसम पूर्वानुमान : मुलुकभर मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं : हाल नेपालको पूर्वी र मध्य भागमा मनसुन सक्रिय रहेको छ।

आगामी ४ देखि ५ दिनभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि मनसुन विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मनसुन सक्रिय रहेको छ। बाँकी क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ।

आज देशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा उच्च हिमाली भागमा हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा (लू) चल्ने सम्भावना रहेकाले सचेत रहन भनिएको छ।

असार १३, २०८३ शनिबार ०७:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।