एमाले उपाध्यक्ष पौडेलको रिटमाथि असार १६ गते सुनुवाइ हुने, महान्यायाधिवक्ताको कार्यालयसँग जवाफ माग

एमाले उपाध्यक्ष पौडेलको रिटमाथि असार १६ गते सुनुवाइ हुने, महान्यायाधिवक्ताको कार्यालयसँग जवाफ माग

काठमाडौं : एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन्। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो। 
          

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी यही असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मन्त्री पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई ‘श्रीराम टोवाको प्रालि’को सेयर खरिदमा सहजीकरण गरिदिएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ।

असार १२, २०८३ शुक्रबार १३:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।