असुरक्षाको कारण देखाउँदै रामेछापको खाँडादेवीका २२ जना प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा
रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब-इन्जिनियरहरूले कार्यस्थलमा कुटपिट, दुर्व्यवहार र धम्की दिइएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका छन्।
प्राविधिक कर्मचारीहरूको सामूहिक राजीनामासँगै गाउँपालिकाको पूर्वाधार शाखामार्फत सञ्चालन हुने सम्पूर्ण कामकाज रोकिएको छ।
२२ जना प्राविधिक कर्मचारीहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा केही समययता उपभोक्ता समितिसँग सम्बन्धित तथा अन्य व्यक्तिहरूबाट प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब, धाकधम्की र असुरक्षा सिर्जना गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार असार ९ गते सम्पन्न २०औँ गाउँसभाको अधिवेशनका क्रममा गाउँपालिका कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक कर्मचारीमाथि दुर्व्यवहार तथा हातपातको प्रयास भएको थियो।
त्यसको दुई दिनपछि असार ११ गते पूर्वाधार शाखाभित्रै प्राविधिक कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको धम्की दिइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादवले बिहीबार साँझ प्राविधिक कर्मचारीमाथि घेरा हालेर कुटपिट गरिएको दाबी गरे। उनका अनुसार पछिल्ला घटनापछि कर्मचारीहरूले आफूलाई अत्यन्त असुरक्षित महसुस गर्न थालेका छन्।
"विधि र प्रक्रियाअनुसार काम गर्दा पनि विभिन्न दबाब र अवरोध खेप्नुपरेको छ, कसरी काम गर्नेभन्दा पनि कसरी ज्यान जोगाउने भन्ने चिन्ता भएको छ।," यादवले थपे, "यस्तो असुरक्षित वातावरणमा प्राविधिक कर्मचारीहरूलाई योजनाको नापजाँच, अनुगमन तथा निरीक्षणका लागि फिल्डमा पठाउन सकिने अवस्था छैन।"
कर्मचारीमाथि भइरहेको दबाब र भौतिक असुरक्षाका कारण विकास निर्माणका काम तथा सेवा प्रवाहमा गम्भीर असर परेको पनि विज्ञप्तिमा जनाइएको छ ।
कर्मचारीहरूको राजीनामासँगै खाँडादेवी गाउँपालिकाको पूर्वाधार शाखामार्फत सञ्चालन हुने नापजाँच, अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको छ।
गाउँपालिका कार्यालयले यस घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिएको छ। साथै, यो समस्या यथाशीघ्र समाधान नभएमा विकास निर्माणका आयोजना मात्र नभई समग्र सेवा प्रवाह नै ठप्प हुन सक्ने चेतावनी दिँदै गाउँपालिकाले सबै पक्षबाट रचनात्मक र जिम्मेवार भूमिकाको अपेक्षा गरेको छ।
असार १२, २०८३ शुक्रबार १०:४३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।