मनसुन कोशी, मधेस र बागमतीमा सक्रिय; तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुन कोशी, मधेस र बागमतीमा सक्रिय; तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं : हाल नेपालमा कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीको केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ।

बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै उच्च हिमाली क्षेत्रमा हिमपातको प्रक्षेपण गरिएको छ।

अर्कोतर्फ, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका भागमा तापक्रम बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने सम्भावना रहेका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

असार १२, २०८३ शुक्रबार ०७:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।