सुनसरीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सुनसरी : सुनसरीको बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक लालुकुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।
मंगलबार दिउँसो करिब १२ बजे प्रदेश १–०२–००२ च ६२५२ नम्बरको कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा गुडेको थियो। ठोक्किएपछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो। स्थानीय बासिन्दाको सहयोगमा मोटरसाइकलमा लागेको आगो तत्काल नियन्त्रणमा लिइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा सोही दिन दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ का मृतक यादव जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भई त्यहाँ हाजिर हुन जाने क्रममा दुर्घटनामा परेका थिए।
दुर्घटनामा संलग्न कार नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्ष एवं रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाएका थिए। मोरङको कटहरी गाउँपालिका–३ का डा. चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
असार १०, २०८३ बुधबार १०:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।