लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको सम्भावना, कोशी र बागमतीमा वर्षा

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको सम्भावना, कोशी र बागमतीमा वर्षा

काठमाडौं : नेपालमा पूर्वी क्षेत्रबाट भित्रिएको मनसुनी वायु र पश्चिमी वायुको मिश्रित प्रभावका कारण मुलुकभरिको मौसममा विविधता देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायु सक्रिय छ। अन्य क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो कोशी प्रदेशका तराई र देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो लहर (लु) चल्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम अझै बढ्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशीको तराईमा साधारणतया बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा बागमतीका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ।

तातो लहर, बढ्दो तापक्रम र चट्याङको जोखिम उच्च रहेकाले महाशाखाले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमबाट बच्न र मौसमसम्बन्धी पछिल्लो अपडेटमा चनाखो रहन समेत महाशाखाले अनुरोध गरेको छ।

असार १०, २०८३ बुधबार ०७:०३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।