पार्टीले बोलाएका पाहुनाबारे रास्वपा सांसद सुनारको अपमानजनक टिप्पणी; प्रवक्ता झाले भने : 'अनुशासन समितिले रिभ्यु गर्ला'
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा निम्त्याइएका पाहुनाबारे अपमानजनक टिप्पणी गरेका छन्।
रास्वपाको निम्तो स्वीकार गरेर उद्घाटन समारोहमा पुगेका पाहुनाहरूको अभिव्यक्तिको विषयमा मंगलबार सञ्चारकर्मीले प्रतिक्रिया लिँदा सुनारले उनीहरूलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारीको संज्ञा दिँदै अपमानजनक अभिव्यक्ति दिए।
आइतबार चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले रास्वपाको निम्तो स्वीकार गरेर महाधिवेशन सफलताको शुभकामना दिएका थिए।
तर, सुनारले पार्टीले निम्तो दिएर बोलाएको पाहुनाकै बारेमा नकारात्मक टिप्पणी गरे। पार्टी सभापति रवि लामिछानेले उनीहरूको भ्रष्ट अनुहार अन्तिम पटकको लागि देखाउन बोलाएको उनको टिप्पणी थियो।
"रवि दाइले हिजो चाहिँ उहाँहरूलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतंककारीहरूको अनुहार कार्यकर्ता साथीभाइले हेरि लिनुहोस् उनीहरूलाई," सुनारले भने, "अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनुभएको।"
उनको यस्तो टिप्पणीमा सञ्चारकर्मीले पाहुनाहरूलाई भ्रष्टाचारी करार गर्न मिल्दैन होला नि भनेर सम्झाएका थिए। तर सुनारले उद्घाटनमा निमन्त्रणा दिएर आफ्नो पार्टीका नेताहरूले राजनीतिक सदासहायता देखाएको प्रतिक्रिया दिए।
"भ्रष्टाचारीहरूले आएर हामीलाई सदाचारी सिकाउनु पर्दैन। जसले जेनजीको हत्या गरे, हत्याराहरूले आएर हामीलाई सदाचार सिकाउनु पर्दैन," उनले भनेका छन्, "उनीहरूलाई हामीले जति इज्जत दिन बोलाएका छौं, त्यति इज्जत दिने, जाने।"
उक्त अभिव्यक्ति सार्वजनिक भएपछि अहिले उनको आलोचना भइरहेको छ। उनको अभिव्यक्तिको विषयबारे सञ्चारकर्मीहरूले रास्वपाका प्रवक्ता मनिष झासँग प्रश्न गरेका छन्। झाले सुनारको अभिव्यक्तिको विषय अब आउने नयाँ केन्द्रीय समितिको विषय बन्ने प्रतिक्रिया दिए। पार्टीले बोलाएका अतिथिहरूबारे महाधिवेशन स्थलबाटै अपमानजनक ढंगले दिएको टिप्पणी सही नभएको उनको भनाई थियो।
राजनैतिक टीका-टिप्पणी गर्ने र मूल्याङ्कनहरू अभिव्यक्त गर्ने निश्चित ठाउँहरू हुने भए पनि घरमै बोलाएका अतिथिलाई गाली गर्न नहुने उनले बताए। झाले भनेका छन्, "घरमै बोलाएर चाहिँ गाली गर्न हुँदैन।" सञ्चारकर्मीले सुनारको अभिव्यक्तिलाई रास्वपाले कसरी लिन्छ ? के उनीमाथि कारबाही हुन्छ भन्ने जिज्ञासा राखेका थिए।
जवाफमा झाले भने, "अब ती व्यक्तिहरूलाई, ती सांसद वा नेताहरूलाई कारबाही के-कस्तो हुन्छ भन्ने त अब निर्वाचित नयाँ कमिटीले त्यसलाई रिभ्यु गरेर, अनुशासन समितिले त्यसलाई रिभ्यु गर्ला। अहिले अब हामी ट्रान्जिसनल फेजमा छौं। त्यसैले गर्दा यस्तो नै हुन्छ र यस्तो नै गर्नुपर्छ भन्ने कुरा हामीले अहिले बोल्नै हुँदैन।"
असार ९, २०८३ मंगलबार १६:४०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।