बाजुरामा बस दुर्घटना : २६ जना घाइते, उद्धार कार्य जारी

बाजुरामा बस दुर्घटना : २६ जना घाइते, उद्धार कार्य जारी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। 

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा बिहान ७:१० बजे उक्त बस दुर्घटनामा परेको थियो। बसका चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए।

उद्धारका लागि  अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जनाको टोली खटिएको छ।

त्यस्तै, प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा सात जना र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना गरी ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइतेहरूको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स परिचालन गरिएको थियो।

२३ जना घाइतेलाई जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। त्यसमध्ये १ जना घाइतेलाई दुर्घटना स्थलबाट थप उपचारका लागि अछामको बयालपाटा अस्पताल पठाइएको छ। दुई जना घाइते आफैं मोटरसाइकलमार्फत अस्पताल गएको प्रहरीले जनाएको छ। 

घाइतेहरूको नाम, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले जानकारी दिए।

असार ७, २०८३ आइतबार १०:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।