जावलाखेलमा भोटो प्रदर्शन; राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहद्वारा अवलोकन

जावलाखेलमा भोटो प्रदर्शन; राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहद्वारा अवलोकन

काठमाडौं : ललितपुरको जावलाखेलमा शनिबार अपराह्न परम्पराअनुसार भोटो प्रदर्शन गरिएको छ। ठटीटोलबाट तिथि हेरी पश्चिमतर्फ तानेर जावलाखेल ल्याइएको रथ यहाँ पुर्याइएको चौथो दिन भोटो प्रदर्शन गर्ने गरिन्छ।

वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा शनिबार भोटो प्रदर्शन गरिएसँगै विधिवत् रूपमा सम्पन्न भएको मानिने परम्परा रहिआएको छ।  

करिब एक हजार ६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै प्राचीन तथा महत्त्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ।

गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई ३२ हात अग्लो रथमा विराजमान गराई परिक्रमा गराइएको थियो। रथ पुल्चोक, गाः बहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै ठटीटोलसम्म पुर्याइएको थियो।

गुठी संस्थान ललितपुरका कर्मचारीले परम्पराअनुसार रथको माथिल्लो भागबाट चारै दिशामा उपस्थित जनमानसलाई भोटो प्रदर्शन गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले जावलाखेल पुगेर भोटो जात्राको अवलोकन गरे। त्यहाँ उनले रातो मच्छिन्द्रनाथ र जीवित देवी कुमारीको दर्शन समेत गरेका थिए।

जात्रा अवलोकनका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरू जावलाखेल पुगेका थिए। जात्रा हेर्न ललितपुर र आसपासका क्षेत्रबाट हजारौं भक्तजनको उपस्थिति रहेको थियो।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ। त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व रहिआएको छ। नागराजाले उपहारस्वरूप दिएको र हराएको भोटोको स्वामित्वसँग जोडिएको किंवदन्तीका आधारमा यो जात्रा मनाउने गरिन्छ। 

भोटो प्रदर्शनको कार्यक्रम सकिएसँगै रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजासहित ललितपुरकै बुँगमती लगिएको छ। मच्छिन्द्रनाथलाई बुँगमती पुर्याएसँगै झन्डै दुई महिना लामो यो सांस्कृतिक रथयात्रा यस वर्षका लागि औपचारिक रूपमा सम्पन्न भएको छ। 

असार ६, २०८३ शनिबार २२:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।