कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ : शिक्षामन्त्री
चितवन : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।
शनिबार चितवनमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
उनले चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर सोही अनुसार काम गर्न अनुरोध गरे।
उनले विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युग सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति रहेको बताए।
असार ६, २०८३ शनिबार १५:४३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।