उदयपुरमा विद्यालय बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० घाइते

उदयपुरमा विद्यालय बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० घाइते

उदयपुर : उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बरको बस सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ का ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको र प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

असार ६, २०८३ शनिबार १३:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।