बजेट कार्यान्वयन नहुने भाष्य अन्त्य गर्न अर्थमन्त्री वाग्लेको निर्देशन, कमजोर नतिजा स्वीकार्य नहुने चेतावनी

बजेट कार्यान्वयन नहुने भाष्य अन्त्य गर्न अर्थमन्त्री वाग्लेको निर्देशन, कमजोर नतिजा स्वीकार्य नहुने चेतावनी

काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय योजना आयोगमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उनले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताए।

“राम्रा, असल र काम गर्ने हुटहुटी भएका राष्ट्र सेवकको साथमा छौं, खुबी भएका राष्ट्र सेवकलाई संरक्षण गर्छौं”, उनले भने, “कर्मचारी वृत्तमा ‘खै अन्योल छ, त्रास छ, के हो, नयाँ सरकार’ भन्ने पाउँछु, त्यतातर्फ नलाग्नु होला, तपाईंहरु सेवा निवृत्त हुनुभयो भने पनि खोजिखोजी राज्यको जिम्मेवारीमा ल्याउँछौं।”

निजामती सेवा र सुरक्षा अङ्ग तथा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिकरण र दलीयकरणबाट ‘डिपार्चर’ गराउने योजनामा सरकार रहेको उल्लेख गर्दै उनले ट्रेड युनियन खारेज गरेर त्यसको सुरुआत गरिएको स्पष्ट पारे।

विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै वाग्लेले भने, “जेठ १६ गतेदेखि नयाँ ‘स्प्रिट’मा काम गरौं भन्ने नै हो। साउन १ गतेदेखि त गर्नुपर्नेछ, अर्थ मन्त्रालयले रूपान्तरणको एजेन्डालाई अघि बढाउनेछ।”

पुँजीगत खर्चको लक्ष्य हासिल नहुने विगतको गलत नजिर आगामी दिन दोहोरिन नहुने बताउँदै उनले आगामी वर्ष विगतको नतिजा स्वीकार्य नहुने बताए।

“आजको दिनसम्म पुँजीगत खर्च ३१ प्रतिशत मात्रै हो ? ४०७ अर्बमा हामीले खर्च गरेको जम्मा ३१ प्रतिशत। अब बत्तिएर यही असारे विकास गरेर ५० प्रतिशतसम्म पुग्यो भने सन्तोषको श्वास फेर्नुपर्ने अवस्था छ। अर्को साल यो हुन दिँदैनौं, यसतर्फ पनि आयोगले ध्यान दिनुपर्छ।”

सरकारको ‘स्प्रिट’, बजेट, नीति तथा कार्यक्रम र १०० बुँदे शासकीय सुधारका कार्यक्रमको जगलाई आधार बनाएर आगामी पाँच वर्षको स्पष्ट मार्गचित्र बनाएर अघि बढ्न निर्देशन दिए।

“बजेट हिजो पास भएको छ। बजेट त आउँछ, तर कार्यान्वयन हुँदैन भन्ने भाष्य अब अन्त्य हुनुपर्छ। यति बलियो सरकारले पनि चिर्न सकेन भने कसले गर्ने, कहिले गर्ने। यस पटक त्यो चिर्नुपर्छ”, उनले भने। 

असार ५, २०८३ शुक्रबार २१:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।