मन्त्री बस्ने घरमा मध्यरातमा खानतलासी, के भन्छ प्रहरी?

मन्त्री बस्ने घरमा मध्यरातमा खानतलासी, के भन्छ प्रहरी?

काठमाडौं : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुली बस्ने घरमा बिहीबार राति प्रहरी प्रवेश गरेको विषयमा प्रहरीले स्पष्टीकरण दिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले प्रहरी मन्त्रीको कोठाभित्र प्रवेश नगरेको तर फरार अभियुक्तको खोजीका क्रममा घरको कम्पाउन्डभित्र भने गएको स्पष्ट पारेका छन्।

शुक्रबार संसद्‌मा बोल्दै एमाले सांसद राजेन्द्रकुमार राईले मन्त्री पराजुली संखुवासभा गएको मौका छोपी बिहीबार राति करिब १० बजे मन्त्रीको कोठा खानतलासी गरिएको भन्दै आपत्ति जनाएका थिए।

उनले नयाँ सरकार गठन हुनासाथ मन्त्रीकै कोठामा विनाजानकारी प्रहरी प्रवेश गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसको तत्काल छानबिन गर्न माग गरेका थिए।

सांसद राईको उक्त दाबी गरेपछि उकेराले  कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले घटनाबारे सोधेको थियो। उनले सांसदले भनेजस्तो कोठामै प्रवेश गरेर खानतलासी नगरिएको प्रस्ट पारे।

डिआइजी घिमिरेले उकेरासँग भने, ‘फरार अपराधी त्यहाँ छ भन्ने सूचनाका आधारमा प्रहरी त्यो घरको कम्पाउन्डभित्र गएको हो। तर, माननीयज्यूले भन्नुभएजस्तो कोठामै प्रवेश गरेर खानतलासी गरिएको होइन।’

मन्त्री पराजुली भाडाको घरमा बस्ने गरेको जानकारी दिँदै डिआईजी घिमिरेले पीडितलाई समेत साथमै लिएर प्रहरी टोली फरार अभियुक्त पक्रन त्यहाँ पुगेको दाबी गरे।

उनले थपे, ‘त्यही घरमा फरार अपराधी लुकेको छ भन्ने सूचनाको आधारमा खोजतलास भएको हो। घरभित्रै पसेर कोठा खोतल्ने वा हेर्नेवर्ने काम भएको छैन।’

प्रहरीले फरार अपराधी त्यहाँ लुकेको आशंकामा कम्पाउन्डसम्म पुगेको स्वीकार गरे पनि ती व्यक्ति कुन मुद्दाका फरार अभियुक्त हुन् भन्ने विषयमा भने केही खुलाएको छैन।

असार ५, २०८३ शुक्रबार १२:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।