पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध, मनाङ आउजाउ गर्ने दर्जनौँ सवारीसाधन अलपत्र
लमजुङ : पहिरोका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ।
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आज बिहान बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा पहिरो खसेपछि यो सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार सडक माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसिरहेकाले बाटो बन्द भएको हो।
सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङ जाने र मनाङबाट बेँसीसहर हुँदै अन्य गन्तव्यतर्फ प्रस्थान गर्ने दर्जनौँ सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
खरखरे भिरमा विगत पाँच-सात वर्षदेखि नै वर्षायाममा निरन्तर पहिरो जाँदा यात्रा अत्यन्तै जोखिमपूर्ण बन्दै आएको छ। सो स्थानको पहिरो नियन्त्रण र रोकथामका लागि सङ्घीय सरकारको १९ करोड ४८ लाख रुपैयाँ बजेटमा काम अघि बढाइएको थियो।
तर, निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण यात्रुहरूले बर्सेनि सास्ती भोग्नुपरेको छ। वि.सं. २०८० सालभित्रै सम्पन्न भइसक्नुपर्ने पहिरो नियन्त्रणको काम हालसम्म पनि पूरा हुन सकेको छैन।
यसैबीच, लमजुङको अर्को पर्यटकीय मार्ग बेँसीसहर-घलेगाउँ सडकसमेत पहिरोका कारण अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका-६ कै पुमा भिरमा गएको पहिरोले यो सडकखण्ड ठप्प पारेको डिएसपी बस्नेतले जानकारी दिए। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
असार ५, २०८३ शुक्रबार ०८:४६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।