आजको मौसम : पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो हावाको लहर

आजको मौसम : पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो हावाको लहर

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावका कारण आज देशका विभिन्न भूभागमा मौसममा बदली आउनुका साथै वर्षा, हिमपात र तातो हावाको लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ।

कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली भेगका कतिपय स्थानमा हिमपात हुन सक्नेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

यसैगरी, मधेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागे पनि अन्य तराई क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

वर्षाको सम्भावना नभएका लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा आज तातो हावाको लहर (लू) चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आज अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको तराई र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रको मौसम सफा रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानका साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि राति वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

असार ५, २०८३ शुक्रबार ०८:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।