संक्रमणकालीन न्याय : आयोग गठन र एकीकृत विवरणको तयारी तीव्र, करिब २२ करोड बजेट विनियोजन

संक्रमणकालीन न्याय : आयोग गठन र एकीकृत विवरणको तयारी तीव्र, करिब २२ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई शीघ्र टुंगोमा पुर्याउन दुवै आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजित शिर्षकमाथिको छलफलमा भाग लिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यसबारे जानकारी गराएकी हुन्।

सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्यमा समेत परेको यो विषयलाई यथाशीघ्र निष्कर्षमा पुर्याउन उच्च प्राथमिकता दिइएको उनले प्रष्ट पारिन्।

शान्ति सम्झौता भएको २० वर्षको अवधिमा भएका प्रगतिबारे एकीकृत विवरण तयार पार्ने काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी गराइन् ।

"नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ," उनले भनिन्, "शान्ति सम्झौता भएको बीस वर्षको अवधिमा शान्ति प्रक्रियामा के कति कस्तो काम भयो सोको एकीकृत विवरण तयार गरी यथार्थपरक पोजिसन पेपर मन्त्रालयले तयार गरिरहेको छ।"

सोही आधारमा सबै दल र सरोकारवालासँग संवाद गरेर बाँकी प्रक्रिया टुंगोमा पुर्याउने मन्त्री गौतमले बताइन्।

सङ्क्रमणकालिन न्याय सम्बन्धित आयोगहरु–सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि जम्मा २१ करोड ९१ लाख १७ हजार बजेट विनियोजन भएको उनले जानकारी गराइन्।

पीडितको परिपूरणको लागि सरकारले नियमावली बनाई छुट्टै कोषको स्थापना गरिसकेको पनि उनले जानकारी दिइन्।

असार ४, २०८३ बिहीबार १७:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।