पासपोर्ट घोटालामा तानिइन् आरजु, घरमा टाँसियो बयानको म्याद
काठमाडौं : पासपोर्ट ठेक्कामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणालाई अनुसन्धानमा तान्दै बयानमा बोलाएको छ।
आरजु विदेशमा रहेकाले अख्तियारले बाटाको म्याद बाहेक तीन दिन भित्र बयानका लागि आयोगमा आउन आरजुको स्थायी ठेगाना रहेको बुढानिलकन्ठको घरमा लिखित पर्चा टाँसेको हो।
राहदानी छपाइको टेन्डरको समयमा राणा परराष्ट्रमन्त्री थिइन्। टेन्डरको प्रक्रिया राहदानी विभागले टुंग्याएको हो।
प्रारम्भदेखि नै पासपोर्ट टेन्डर विवादमा आएको थियो। पहिला प्याकेज बनाइएको ठेक्का विवादपछि टुक्राइएको थियो।त्यसपछि पुरानो कम्पनीको साटो जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोसले ठेक्का पाएका थिए।
अख्तियारले बिहीबार दैनिक पत्रिकामा सूचना निकालेर यी दुवै कम्पनीका प्रतिनिधिलाई समेत बयानमा बोलाएको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई असार २ गते पक्राउ गरेको थियो।
पक्राउ अगाडि प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीले भेट्न चाहेको भन्दै प्रमुख आयुक्त र आयुक्तहरूलाई बोलाएर सहयोगीले पासपोर्ट ठेक्कामा पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन दबाब दिएका थिए। त्यसपछि भट्टराई समातिएका थिए।
फ्रान्सेली कम्पनी आईडीईएमआईएले नेपालको पासपोर्ट छाप्दै आएको थियो। एक पटक ठेक्का पाएको यसले पूरक सम्झौताकै आधारमा पासपोर्ट छाप्ने काम पाइरहेको थियो।
नयाँ टेन्डरको तयारीको प्रारम्भमा यही कम्पनीलाई सहज हुनेगरी प्याकेजमा खरिद मापदण्ड बनेको थियो। त्यसको खुलासापछि मापदण्ड संशोधन भयो। प्रतिस्पर्धामा अन्य कम्पनीले ठेक्का पाएपछि फ्रान्सेली कम्पनी विभिन्न निकायमा उजुरीदेखि अदालतमा समेत पुगेको थियो। सर्वोच्चमा परेको कम्पनीको रिट विचाराधिनै छ।
असार ४, २०८३ बिहीबार १६:५८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।