धादिङको क्रसर उद्योगमा एक कामदार मृत फेला

धादिङको क्रसर उद्योगमा एक कामदार मृत फेला

धादिङ : धादिङको थाक्रे गाउँपालिका-७ सातकिलोस्थित सृष्टि क्रसर उद्योगमा कार्यरत एक कामदार मृत अवस्थामा फेला परेका छन्।

नेत्रावती डबजोङ गाउँपालिका-१ कागुने घर भई उक्त क्रसरमा काम गर्ने ३५ वर्षीय दीपक मगर बिहीबार बिहान मृत फेला परेका हुन्।

तुलसीप्रसाद पोखरेलले सञ्चालन गरेको सृष्टि क्रसर उद्योगभित्र रहेको एकतले जस्तापाताको टहरामा मगर घोप्टो सुतिरहेको अवस्थामा मृत फेला परेका थिए।

सँगै काम गर्ने अन्य कामदारहरूले मगरलाई मृत अवस्थामा देखेपछि बिहान करिब ८:३० बजे प्रहरी चौकी महादेववेशीमा खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ महादेववेशीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बिहान ११:२० बजेदेखि घटनास्थल मुचुल्का सुरु गरी दिउँसो १:०० बजे कार्य सम्पन्न गरेको थियो।

प्रहरीका अनुसार मृतक मगरको शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

असार ४, २०८३ बिहीबार १०:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।