नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितताको आशंका, छानबिनका लागि मन्त्रालयद्वारा समिति गठन

नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितताको आशंका, छानबिनका लागि मन्त्रालयद्वारा समिति गठन

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनको उपकरण तथा प्रविधि खरिद प्रक्रियामाथि छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।

गत असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा यो छानबिन समिति बनाइएको हो।

नेपाल टेलिभिजनले विगत केही वर्षयता खरिद गरेका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म), अडियो/भिडियो उपकरण, डिजिटल ट्रान्समिटर र इटहरी च्यानलको ‘प्लेआउट अटोमेसन सिस्टम’ मा पारदर्शिता र कानुनी प्रक्रिया मिचिएको भन्दै उजुरी परेका थिए। तिनै उजुरी र सार्वजनिक सरोकारका विषयको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ।

विभिन्न निकायमा परेका गुनासोमाथि मन्त्रालयको आन्तरिक जानकारीका लागि यो समिति गठन गरिएको हो। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणमा पनि छानबिन समिति गठन गरेको थियो।

नेपाल टेलिभिजनमा विगत केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानुनी प्रक्रियाको पालनासम्बन्धी प्रश्नहरू उठ्दै आएका छन्।

असार ३, २०८३ बुधबार १२:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।