सिन्धुलीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सिन्धुलीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित वीपी राजमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार दिउँसो साढे ३ बजेतिर वीपी राजमार्गको कृपा होटल अगाडि उक्त दुर्घटना भएको हो।

माझिटारबाट ढुग्रेबासतर्फ जाँदै गरेको ज १ त ९०३७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ६९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी मोटरसाइकल चालक कमलामाई नगरपालिका-१२ बस्ने ३० वर्षीय मनिष माझी गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटना भएको स्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५०० मिटर पश्चिम दूरीमा पर्दछ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्टर चालक कमलामाई नगरपालिका-५ मढुटार बस्ने ४२ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

असार ३, २०८३ बुधबार १०:२३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।