म्याग्दीको सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा : तीन घरको आँगनमै आइपुग्यो पहिरो, २० परिवार सङ्कटमा

म्याग्दीको सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा : तीन घरको आँगनमै आइपुग्यो पहिरो, २० परिवार सङ्कटमा

म्याग्दी :  म्याग्दीको मालिका गाउँपालिका–३ मा पर्ने सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्सेखोलाको फेदीबाट सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो ।

स्थानीय रविन खत्रीका अनुसार पहिरो आँगनमै आइपुगेकाले कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर उच्च जोखिममा परेका छन्। 

“पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन”, उनले भने।

पहिरोका कारण नजिकैको जमिन धाँजा फाटेर चिराचिरा परेको छ भने सडकसमेत जोखिममा परेको छ।

पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको सेउलुङ टोल, सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा–डाडाँगाउँ–सोले–तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताए। 

उनका अनुसार टाक्से हँदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो। फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन।

ठूलो  क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुनसकेको छैन। मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताए। 

जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उनले बताए। पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए।

असार २, २०८३ मंगलबार १६:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।