बजेटले जनमतको अपमान गर्यो, अर्थमन्त्रीको एटिट्युड ठीक भएन : महर
काठमाडौं : एमालेका सचेतक ऐनबहादुर महरले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले गरिब, दलित र पिछडिएका वर्गलाई समेट्न नसकेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बजेटलाई ‘गैरजिम्मेवार, हावादारी र विभेदकारी’ को संज्ञा दिँदै यसले जनमतको घोर अपमान गरेको बताए। अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न उठाउँदै उनले बजेट विभेदकारी रहेको जिकिर गरे।
उनले भने, "उहाँ प्रतिपक्षलाई हेप्ने र अपमान गर्ने तरिकाले प्रस्तुत हुनुभयो। त्यसले उहाँको विद्वतामाथि गम्भीर प्रश्न गरेको छ। बजेटले दूरदराज देखेन। यसले गरिब तथा विपन्न समुदाय, महिला बालबालिका दलित देखेन। एक प्रकारले भन्ने हो भने बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो। त्यसले दुःखी बनाउनुभयो। जनमतको घोर अपमान गर्नुभयो। म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, अर्थमन्त्रीज्यूको।"
महरले सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए। अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै उनले बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए।
उनले भने, "यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन। विद्वान अर्थमन्त्री टिभीमा देख्दा, विगतमा वक्तव्यहरू सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो। तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन। बजेटमा समेटिएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई गम्भीर बनायो। जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन।"
असार २, २०८३ मंगलबार १५:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।