सेफ सन्तोष साह रिहा
काठमाडौं : ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।
पीडित पक्षलाई चेकबमोजिमको साढे ४ लाख रुपैयाँ बुझाएपछि साहलाई सोमबार बेलुका हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
‘काठमाडौं परिसरको हिरासतमा रहनुभएको उहाँ हिजो बेलुकी हाजिरी जमानी रिहा हुनुभएको छ’, उनले उकेरासँग भने।
साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
काठमाडौंको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।
थापाले गत वर्ष काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसूरमा मुद्दा दर्ता गरेको र उक्त मुद्दा अहिले चलिरहेको पनि प्रवक्ता भट्टराईले बताए।
असार २, २०८३ मंगलबार १३:२०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।