जीर्ण सडकको विरोधमा सुन्दरहरैंचामा 'सडक रोपाइँ'
विराटनगर : वर्षौंदेखि जीर्ण र हिलाम्मे सडक मर्मतमा सम्बन्धित निकायले चासो नदेखाएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–३, सगरमाथा टोलका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।
वर्षा सुरु भएसँगै हिँडिनसक्नु भएको सडकप्रति ध्यानाकर्षण गराउन स्थानीयले मंगलबार सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका हुन्।
वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन्।
वर्षायाममा सडक पूर्ण रूपमा हिलाम्मे हुँदा स्थानीयलाई आवतजावत गर्न र हिँडडुल गर्नसमेत निकै कठिन र जोखिमपूर्ण बनेको छ।
स्थानीय विजय ओझाले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा पटक–पटक अनुरोध गर्दा कुनै पहल नभएको बताए।
स्थानीयवासीले सडकमा सामान्य मर्मत गरी केही मिसगिटी हालिदिए पनि तत्काल राहत पुग्ने बताउँदै आएका छन्। तर सम्बन्धित निकायबाट कुनै प्रभावकारी कदम नचालिएपछि सडकमै रोपाइँ गरेर असन्तुष्टि व्यक्त गर्नुपरेको उनीहरूको भनाइ छ।
स्थानीय खेमकुमारी गौतमले आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको बताइन् ।
स्थानीयवासीले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न वडा कार्यालय र नगरपालिकासँग माग गरेका छन्। उनीहरूले समयमै समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
असार २, २०८३ मंगलबार ११:३४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।