यस वर्षको मनसुन भित्रिन केही दिन ढिलो हुने, कारण ‘एल निनो’
काठमाडौं : नेपालमा यस वर्षको मनसुन आगमनमा केही दिन ढिलाइ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष हालसम्म भित्रिन सकेको छैन।
विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, भू-उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने सम्भावना देखिएको हो।
हाल नेपालमा पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम स्तरको वर्षा भइरहेको छ।
विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’प्रणाली विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेको छ। यसको प्रभावका कारण नेपालसहित दक्षिण एसियाकै मनसुनी प्रणाली कमजोर हुन सक्ने र मनसुन आगमनमा समेत ढिलाइ हुने देखिएको छ।
विगतका वर्षहरूमा पनि एल निनोको प्रभावका कारण मनसुन ढिलो भित्रिएको तथ्याङ्क छ। विभागका अनुसार विगतमा सन् १९८२ मा जुन २७, सन् १९८३ मा जुन २४, सन् २००९ मा जुन २३ र सन् २०१९ मा जुन २० मा मात्र नेपालमा मनसुन भित्रिएको थियो।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसमी सूचना अद्यावधिक गर्दै लैजाने विभागका प्रवक्ता विभूती पोखरेलले जानकारी दिएका छन्।
विभागले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ।
असार २, २०८३ मंगलबार ०७:३७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।