ढोरपाटनमामा ट्याक्टर दुर्घटना : १८ वर्षीय चालक आशिष घर्तीको मृत्यु

ढोरपाटनमामा ट्याक्टर दुर्घटना : १८ वर्षीय चालक आशिष घर्तीको मृत्यु

ढोरपाटन : बागलुङमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको ढोरपाटन नगरपालिका-५ प्याङखोलामा बोबाङदेखि सालझण्डी-ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका-६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख एवं प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनले बताए।

चालक घर्तीको शव दुर्घटनास्थल भन्दा करिब ७० मिटर तल भिरमा फेला परेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए। मध्यरातमा दुर्घटना भएकाले उद्धार कार्यमा केही कठिनाइ भए पनि अहिले शवलाई भिरबाट बाहिर निकालिएको उनले बताए।

घटनाबारे जानकारी दिँदै उनले भने, ‘दुर्घटना राति १ बजेतिर भएको हो। हामीलाई दुर्घटना भएको केही समयमै खबर आएको थियो। घटनास्थलमा पुगेर खोजतलास गर्दा एउटा शव फेला पर्यो। ट्याक्टरमा अरू पनि सवार थिए कि भन्ने शङ्काले खोजतलास गर्यौँ, तर ट्याक्टरमा केवल चालक मात्र रहेछन्।’

प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जनाएको छ।

जेठ ३०, २०८३ शनिबार ०८:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।