कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य क्षेत्रमा हिमपात र चट्याङको सतर्कता
काठमाडौं : नेपालको मौसममा यतिबेला विभिन्न मौसमी प्रणालीहरूको मिश्रित प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
यस प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
यतिबेला कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको योग छ।
विशेषगरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जेठ ३०, २०८३ शनिबार ०७:४२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।