वैद्यखानाको व्यवस्थापनमा प्रभावकारिता ल्याउन स्वास्थ्यमन्त्रीको निर्देशन

वैद्यखानाको व्यवस्थापनमा प्रभावकारिता ल्याउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छन्। उनले शुक्रबार अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन्।

वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन्।

वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न मन्त्री मेहताले सुझाव दिइन्। उनले वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिइन्।

मन्त्रालयका सचिव डा विकास देवकोटाले वैद्यखानाबाट उत्पादन हुने आयुर्वेद औषधालय गुणस्तर रहेको भन्दै अझ क्षमता बढाउनुपर्ने बताए। वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केपीले वैद्यखानाबाट उत्पादन हुने औषधि र खाद्यपूरक पदार्थको बारेमा मन्त्री मेहतालाई जानकारी गराए। 

उनले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्याइएको बताए। उनले अहिले वैद्यखानाबाट १०३ प्रकारका औषधि उत्पादन गरिरहेको भन्दै सरकारले सहयोग गरेमा उत्पादन बढाइने बताए। 

जेठ २९, २०८३ शुक्रबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।