सुदूरपश्चिम प्रदेशका २६ पालिकाले रासायनिक मल उठाएनन्, सिधै कृषकलाई वितरण गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई रासायनिक मल नउठाएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटी जिल्लाका स्थानीय तहले तोकिएको परिमाणको मल उठाएका छैनन्। कैलालीको गोदावरी नगरपालिकाले २१ हजार २ सय ३० किलो, गौरीजंग नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी महानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन्।
कञ्चनपुर जिल्लाका केही पालिकाले पनि रासायनिक मल उठाएका छैनन्। भिमदत्ता नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४ सय किलो मल उठाएका छैनन्। अछाम जिल्लामा पर्ने ५ वटा स्थानीय तहमध्ये साँफेबगर नागरपालिका, बन्नीगढ जयगढ गाउँपालिका र कमल बजार नगरपालिकाले मल लैजान बाँकी छ।
धान रोपाई सुरु भइसके पनि सम्बन्धित निकायहरूले मल लगेका छैनन्। तर किसानहरूले मलको अभाव रहेको भन्दै गुनासो गरिरहेका छन्। स्थानीय तहले मल नउठाउने तर किसानबाट मल नपाएको गुनासो आएपछि मन्त्रालयले मल नलगे सिधै कृषकलाई विक्री गर्ने तयारी गरेको हो।
सुदूरपश्चिम प्रदेशले पाउने कोटामध्ये हाल कृषि सामग्री कम्पनी मार्फत उपलब्ध हुने रासायनिक मलमध्ये कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ३२ प्रतिशत मल वितरण हुने व्यवस्था छ। बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटीलगायत अन्य जिल्लाका स्थानीय तहलाई छुट्टाइएको छ। तर यी जिल्लाका सरोकारवाला निकायहरूले मल लगेका छैनन्।
सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वितरण हुने मलमध्ये कैलालीमा ३४ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशत हिस्सा छ। बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशमा ४३ पालिकाले रासायनिक मल बिक्री गर्दै आएका छन्। यसमध्ये १७ पालिकाले लगे पनि २६ पालिकाले मल लैजान नसकेको अवस्था छ।
जेठ २७, २०८३ बुधबार १९:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।