३५ वर्षमा नभएको सुकुम्वासी समस्या ३५ मिनेटमै समाधान हुँदैन, उचित व्यवस्थापन गर्छौँ : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री वालेन्द्न शाहले काठमाडौं उपत्यकाका वास्तविक सुकुम्वासीहरूको समस्या समाधान र उचित व्यवस्थापन हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफ्नो पार्टी र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुकुम्वासीको स्थायी व्यवस्थापनका लागि गम्भीर रहेको दाबी गरे।
संसद्मा बोल्दै प्रधानमन्त्री शाहले आफू काठमाडौँ महानगरको प्रमुखमा रहँदा नै सुकुम्वासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पहिचान गर्ने योजना बनाएको स्मरण गराए।
‘म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको के थियो भने, उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर, होल्डिङ सेन्टरमा राखेर जो सहि सुकुमवासी हुनुहुन्छ, जसको देशैभरी जग्गा पनि छैन, उहाँहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्नुपर्छ," उनले भने।
प्रधानमन्त्री शाहले सुकुम्वासी बस्ती हटाउने कार्यको बचाउ गर्दै बाढी र फोहोरको दुर्गन्धका कारण उनीहरूको ज्यान र स्वास्थ्य जोखिममा रहेकाले तत्काल कदम चालिएको प्रष्ट पारे।
"उहाँहरूको ज्यान जोखिममा थियो, ज्यान जोखिममा पर्नबाट सरकारले जोगाउने काम गरेको हो", उनले थपे, "अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र काम गर्छौं भन्नुभएको छ । जति समय लाग्छ, त्यो लाग्छ । हतार गरेर हुँदैन । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमै नखोजौं। केही समय लाग्छ।"
जेठ १७, २०८३ आइतबार १४:३३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।