देशभर तापक्रम घट्यो, पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा

देशभर तापक्रम घट्यो, पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा
फाइल तस्बिर

काठमाडौं : पछिल्लो दुई दिन देशभर नै मौसममा बदली भई विभिन्न ठाउँमा भएको वर्षाको कारण तापक्रम शनिबार उल्लेख्य रूपमा घटेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो।

अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ। यस्तै बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ। 

पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रुपन्देहीमा पनि वर्षा भएको छ। मौसमविद् सरोज पुडासैनीले तराईमा मङ्गलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिए। उनका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिए। 

यो समय प्रि-मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उनले अनुरोध गरे। विभागमा प्राप्त अभिलेखअनुसार शनिबार नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ। विभागका अनुसार शनिबार सबैभन्दा बढी धनगढीमा ३५.८ डिग्री तापक्रम रेकर्ड भएको छ।

चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री तापक्रम पुगेको छ। काठमाडौंमा अधिकतम तापक्रम २५.३ डिग्री रहेको छ। यसअघि यो वर्ष काठमाडौंमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो।

जेठ १६, २०८३ शनिबार १९:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।