आगामी जेठ २३ गते 'बौद्ध महोत्सव २०८३' हुने, चर्चित सांगीतिक समूहहरूको प्रस्तुति रहने
काठमाडौं : धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ 'बौद्ध महोत्सव २०८३ - हाम्रो संस्कृति, हाम्रो उत्सव' आयोजना हुने भएको छ।
बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्यका साथ काठमाडौं महानगरपालिका वडा नं. ६ को आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।
महोत्सव जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला-हस्तकला र मौलिक खाद्य स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
महोत्सवलाई थप रोचक बनाउन नेपालका चर्चित सांगीतिक समूहहरू द एक्स, हर्कुलेस बस्नेत, द रेन्डर, द पासा, रकर्स फुर्बा र द ब्यान्ड का साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। सांगीतिक प्रस्तुतिबाहेक महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला-हस्तकला र परम्परागत खाद्य स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
वडा अध्यक्ष भुवन लामाका अनुसार बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्ता र विदेशी पर्यटकसम्म पुर्याउनु यस महोत्सवको मुख्य उद्देश्य हो। महोत्सवमा आउने विदेशी पर्यटकहरूले नेपाली संस्कृति, रैथाने स्वाद र सामुदायिक उत्सवको प्रत्यक्ष अनुभव गर्न पाउनेछन्, जसले स्थानीय पर्यटनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
महोत्सवमा सहभागी हुन आउने दर्शकहरूको सहजताका लागि उत्पला क्याफे, सिद्धार्थ हल र बौद्ध पिपलबोट आसपास पार्किङको व्यवस्था मिलाइएको छ।
पूर्ण रूपमा निःशुल्क रहने महोत्सवमा आयोजकले सम्पूर्ण सहभागीहरूलाई आफ्नो मौलिक पोशाकमा उपस्थित हुन आग्रह गरेको छ।
यस महोत्सवले देश-विदेशबाट आउने पर्यटकहरूलाई प्रत्यक्ष रूपमा नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सवको अनुभव गराउने भएकाले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने विश्वास लिइएको छ।
जेठ १४, २०८३ बिहीबार १६:३८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।