बाढी र पहिरोका कारण ५ राजमार्ग अवरुद्ध, बीपी राजमार्ग र हिल्सा-सिमकोटमा गाडी चलाउन रोक
काठमाडौं : विगत केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका ५ राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार बाढी-पहिरोको उच्च जोखिमका कारण केही सडकमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ भने कतै एकतर्फी मात्र गाडी चलिरहेका छन्।
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्ड र हुम्लाको हिल्सा-सिमकोट सडकमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
त्यस्तै, बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिका अन्तर्गत ओयाम बजार, दोभान र रिजालभिरमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
म्याग्दीको बेनी-जोमसोम सडकखण्ड, सङ्खुवासभाको कोशी राजमार्ग र भोजपुरको मध्यपहाडी लोकमार्गमा हाल एकतर्फी मात्रै यातायात सुचारु गरिएको छ।
अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे तापनि जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
जेठ १४, २०८३ बिहीबार ११:४०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।