बकर इद मनाइँदै, काठमाडौंका मस्जिदहरूमा विशेष नमाज

बकर इद मनाइँदै, काठमाडौंका मस्जिदहरूमा विशेष नमाज

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइँदै छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा खुला चौर (इदगाह) मा भेला भई सामूहिक नमाज पढ्ने गर्दछन्। नमाज समापनपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परा छ।

बकर इदका अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा बिहानैदेखि धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहेको छ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार, हिजरी संवत्अनुसार करिब १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल (अलेह सलाम) लाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

मुस्लिम धर्मगुरु (मौलाना) रहमत अलीका अनुसार, ऐतिहासिक बकर इद पर्वको आधार बनेका हजरत इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्म भएको थियो। उनले यस पर्व र इस्लाम धर्मलाई व्यवस्थित रूपमा पुस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए।

उनका उपदेश र अभ्यासहरूको सङ्ग्रह ‘हदिस’लाई हाल मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्यापन गराइन्छ। मक्कामा जन्मिएका पैगम्बर मोहम्मद ५३ वर्षको उमेरपछि मदिना प्रस्थान  गरेको इतिहास छ र उनकै सम्झनामा हाल साउदी अरबका यी दुवै पवित्र तीर्थस्थलमा ठूलो संख्यामा हजयात्रीहरू पुग्ने गर्दछन्।

यस पर्वका अवसरमा साउदी अरबको मक्का र मदिना जानु अत्यन्तै शुभ मानिन्छ। नेपाल सरकारको गृह मन्त्रालय मातहत रहेको हज कमिटीले हजयात्रीका लागि आवश्यक व्यवस्थापन मिलाई साउदी अरब पठाउने गर्दछ। मक्का मदिना जान नपाउनेहरूले घरघरमै बकर इद मनाउने गर्दछन्।

धार्मिक मान्यताअनुसार, अल्लाहका दूत (नवी) हजरत इब्राहिमले ९० वर्षको उमेरमा पत्नी हाजराबाट सन्तानका रूपमा छोरा इस्माइललाई प्राप्त गरेका थिए। पछि अल्लाहले इब्राहिमको निष्ठाको परीक्षा लिनका लागि सबैभन्दा प्रिय चीज कुर्बानी (बलि) गर्न सपनामार्फत आदेश दिए।

इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी गर्न तयार भई आँखा चिम्लेर छुरी चलाउँदा, अल्लाह उनको परीक्षा र समर्पणबाट प्रसन्न भए। सोही समयमा जन्नत (स्वर्ग) बाट ल्याइएको दुम्बा (एक प्रकारको भेडा) त्यहाँ प्रतिस्थापन भई त्यसकै कुर्बानी भएको धार्मिक विश्वास छ। यही घटनाको स्मरणमा कुर्बानी दिने परम्परा रहिआएको हो।

यस पर्वमा मुस्लिम धर्मावलम्बीहरूले धार्मिक विधिअनुसार स्विकार्य (हलाल) मानिएका जनावरको कुर्बानी दिने गर्दछन्। कुर्बानी गरिएको मासुलाई अनिवार्य रूपमा तीन भागमा बाँड्ने परम्परा छ। जसअनुसार एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्र र नातेदारलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राखिन्छ।

नेपाली जामे मस्जिदका अनुसार यो पर्व आजदेखि लगातार तीन दिनसम्म मनाइन्छ र यी तीनै दिन कुर्बानी गर्न मिल्ने धार्मिक विधि रहेको छ। बकर इदका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।

जेठ १४, २०८३ बिहीबार ०८:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।