श्रीकृष्ण विक मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस

श्रीकृष्ण विक मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं : सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकसहित १० जना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ।

सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय विकको हिरासतभित्रै मृत्यु भएपछि प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही समितिले प्रहरीबाटै गम्भीर लापरबाही भएको ठहर गर्दै प्रहरी उपरीक्षकदेखि जवानसम्मलाई कारबाही गर्न सिफारिस गरेको हो।

समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा सङ्लग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ।

जेठ १२, २०८३ मंगलबार १८:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।