पत्रकार किशोर श्रेष्ठमाथि धरपकडको हल्लाबारे संसदमा कुरा उठ्यो
काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठमाथि धरपकड र प्रहरी निगरानी बढेको हल्लाबारे प्रतिनिधि सभामा आवाज उठेको छ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संसद् बैठकमा बोल्दै समाचार लेखेकै आधारमा पत्रकारलाई त्रसित बनाउने र आतङ्क सिर्जना गर्ने प्रवृत्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
संसद्मा आफ्नो धारणा राख्दै सांसद दुलालले पछिल्लो २४ घण्टामा एक स्थापित पत्रकारलाई गिरफ्तार गर्न लागिएको हल्लाले बजार तताएको उल्लेख गरे।
‘समाचार लेखेकै आधारमा पत्रकारलाई आतङ्कित गर्ने प्रवृत्तिले आमसञ्चारमाध्यममा संशय पैदा गरेको छ," उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सरकारको राम्रो कामको चर्चा मात्र गर्ने होइन, कमीकमजोरीप्रति खबरदारी गर्दै आलोचनात्मक समाचार पनि लेख्न सक्छन्।’
सांसद दुलालले पत्रकार श्रेष्ठलाई लक्षित गरी आतङ्क सिर्जना गर्दा आमसञ्चार क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको बताए।
पत्रकारले लेखेका समाचारको नियमन गर्ने वैधानिक निकाय ‘प्रेस काउन्सिल नेपाल’ रहेकाले राज्य शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतङ्कित पार्न नहुने उनले बताए। उनले आफ्नो दलको तर्फबाट राज्य शक्तिको दुरुपयोग रोक्न र कानुनी विधि अनुसार काम गर्न माग गरे।
यसैबीच, नेपाल पत्रकार महासंघले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भएको प्रहरी निगरानी, धरपकडको प्रयास र धम्कीको कडा शब्दमा निन्दा गरेको थियो।
महासंघका अनुसार जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्ताधारी दलका नेताहरूका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस्तो दबाब झेल्नुपरेको हो। समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको सिधा प्रहार भएको महासंघले जनाएको छ।
पत्रकार श्रेष्ठले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूविरुद्ध धरपकड गर्ने, धम्क्याउने र समाचारको स्रोत खोल्न दबाब दिने गतिविधि भइरहेको जानकारी महासंघलाई गराएका थिए।
जेठ १२, २०८३ मंगलबार १३:३४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।