उखु किसानको भुक्तानी र मल अभावबारे सांसद अमरेश सिंहद्वारा सरकारको ध्यानाकर्षण

उखु किसानको भुक्तानी र मल अभावबारे सांसद अमरेश सिंहद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको बाँकी भुक्तानी र मल अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी नगरेको तथा सरकारले उपलब्ध गराउने अनुदानसमेत समयमा किसानसम्म नपुगेको बताए।

उनले किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे। सिंहले उखु किसानको भुक्तानी र सरकारी अनुदान वितरणमा ढिलाइ भइरहेको उल्लेख गर्दै यसलाई छिटो टुंग्याउन आवश्यक रहेको बताए।

उनले भने, "उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। चाँडै उखु किसानको भुक्तानी होस्। सरकारले दिने रकम पनि चाँडै उपलब्ध होस् किसानलाई।"

सिंहले धान रोपाइँको सिजन नजिकिँदै गएकाले रासायनिक मलको पर्याप्त व्यवस्था समयमै गर्न पनि सरकारसँग आग्रह गरे।

"अब रोपाईंको सिजन सुरु हुने बेला छ। प्रर्याप्त मलको व्यवस्था सरकारले समयमा गरोस्। अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन। १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ," उनले भने।

जेठ १२, २०८३ मंगलबार १२:५२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।