जलेश्वरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा
महोत्तरी : महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका–२ स्थित मटिहानी चोकमा पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका शाहलाई स्थानीयस्तरमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले बस र बस चालक पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने चालक सत्यनारायण यादवलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
जेठ ११, २०८३ सोमबार १४:५१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।