राजीनामाको दबाबका बिच आज जवाफ दिँदै अध्यक्ष ओली

राजीनामाको दबाबका बिच आज जवाफ दिँदै अध्यक्ष ओली

काठमाडौं : शुक्रबारदेखि जारी एमालेको सचिवालय बैठक आइतबार पनि बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान साढे ११ बजे बैठक सुरु हुने छ।

बैठकमा पार्टीको आन्तरिक अवस्था र नेतृत्वका विषयमा छलफल भइरहेको छ। शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक आइतबारका लागि लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकमा बाँकी चार जना सचिवहरूले आफ्नो धारणा राख्नेछन् भने पदाधिकारीहरूले उठाएका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम छ।

जारी बैठकमा अध्यक्ष ओलीमाथि नेतृत्व छाडेर मार्ग प्रशस्त गर्न दबाब बढेको छ। शुक्रबार र शनिबार धारणा राख्ने अधिकांश पदाधिकारीहरूले अहिलेको नेतृत्वबाट पार्टी र आन्दोलन अगाडि बढ्न नसक्ने भन्दै पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका छन्।

बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना- विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। उनीहरूले फागुन २१ को चुनावमा पार्टीले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिँदै पार्टीलाई नयाँ ढङ्गले लैजान आफूहरू पनि पद त्याग्न तयार रहेको बताएका छन्।

यस्तै, शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टीभित्र गम्भीर समस्या रहेको र कार्यकर्तामा निराशा बढेको बताउँदै अहिलेकै अवस्थामा अघि बढ्न नसकिने धारणा राखेका थिए। उपमहासचिव योगेश भट्टराईले पनि नेतृत्व परिवर्तनको पक्षमा मत राखेका छन्।

नेतृत्वको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत उभिएका छन्। बादलले संकटको समयमा नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि आफूमाथि पदत्यागको दबाब बढे पनि ओलीले भने आफू निर्वाचित अध्यक्ष भएकाले राजीनामा नदिने अडान राख्दै आएका छन्।

सबै नेताहरूको धारणा सुनेपछि आइतबार ओलीले निर्देशनात्मक सम्बोधन गर्ने र बैठकले विभिन्न एजेन्डामा ठोस निर्णय लिने बताइएको छ।

जेठ १०, २०८३ आइतबार ०७:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।