शृंखलाबद्ध घुँडामुनि गोली प्रहार : कानुनी कारबाही कि कानुन हातमा लिने दाउ ?

शृंखलाबद्ध घुँडामुनि गोली प्रहार : कानुनी कारबाही कि कानुन हातमा लिने दाउ ?

काठमाडौं : कीर्तिपुरमा दिउँसै एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य अभियुक्त सुजन शाही बिहीबार बेलुका पक्राउ परे। तर उनलाई प्रहरी कार्यालयको साटो बयोधा अस्पताल लगियो। कारण  उनको घुँडामुनि गोली लागेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा भाग्न खोजेकाले गोली हानेको दाबी गर्यो। पक्राउ गरेको स्थान चोभारको सुनसान स्थान हुनु अनि कार्यालयबाट परिचालित टोलीको आधारमा गोली प्रहारको घटना प्रहरीले दाबी गरे जस्तो प्राकृतिक भने देखिन्न।

आवश्यकता कि प्रहरीको सर्टकट शैली ?

पछिल्लो समय लागुऔषध र अन्य आपराधिक घटनामा संलग्नको पक्राउमा गोली लाग्नेक्रम बढेको छ। अधिकांश घटनाको शैली घुँडामुनी गोली लाग्ने गरेको देखिन्छ। यसमा भारतबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएका अभियुक्त समेत छन्। यसले गोली हानेर पक्राउ गर्ने प्रहरीको पछिल्ला शैलीहरु शंकास्पद देखिन्छन्।

२०८२ चैत २४ मा गौशालाको पिंगलास्थानमा गोली हानेर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका थिए। लागु औषध अनुसन्धान ब्युरोको टोलीले राती सो अप्रेसन गरेको थियो। प्रहरीले गोली चलाउनुको कारण घेरा हाल्न खोज्दा प्रतिवाद  गर्न खोजेको दाबी गरेको थियो।

उनीहरूबाट एक किलोभन्दा बढी खैरो हिरोइन बरामद भएको प्रहरीको दाबी थियो। पक्राउको शैली र घटनाक्रमले यो प्रहरीको बाई एन्ड ब्रस्ट (आफैँ कारोबारी बनेर लागुऔषध मगाउने र पक्राउ गर्ने शैली) देखिएको थियो।

२०८१ फागुन १८ मा टोखामा भारतीय नागरिक गुड्डु पटेल यसैगरी गोली लागेर घाइते भएको अवस्थामा पक्राउ परेको सार्वजनिक भयो। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले नै उनलाई पक्राउ गरेको थियो। उनी गोठाटारमा भएको लाल मोहम्मद हत्याकाण्डका मुख्य सुटर भएको दाबी गरियो।

उनी नेपाल आएको सूचनाका आधारमा टोलीले टोखा क्षेत्रमा पिछा गरेको र प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि सुरुमा २ राउन्ड हवाई फायर र पछि खुट्टामा गोली हानेर पक्राउ गरिएको प्रहरीले दाबी गरे पनि पछि प्रहरीले उनलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएर टोखा पूर्याएर गोली हानेको खुल्यो।

उनी कहिलेदेखि टोखा आएर बसेको र उनी नेपाल आउनुको उद्देश्य प्रहरीले खुलाउन सकेन। उनीमाथि गोली प्रहार भएको समय र स्थानले समेत यो घटना प्रहरीले दाबी गरे अनुसारकै भएको देखिएको थिएन। २०८१ जेठ ३ मा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले नै सुनसरीमा गोली चलाएर दुई जना श्यामसुन्दर मण्डल र श्याम निरौलालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि पनि लागुऔषधका ठूला कारोबारीको दाबी गरिएको थियो।

 २०७१ ताका अपराध नियन्त्रण गर्न प्रहरी इन्काउन्टर अप्रेसनमा केन्द्रित भएको थियो। त्यो बेलामा प्रहरी इन्काउन्टरबा दिनेश अधिकारी चरीकुमार घैँटे,मनोज पुन मारिएका थिए। 

उपत्यकामा बढ्दो गुन्डागर्दी नियन्त्रणका लागि प्रहरीले कठोर नीति लिँदै इन्काउन्टर अभियान सुरु गरेको थियो। त्यसको प्रारम्भ चरीबाट भयो। उनी २०७१ साउन २१ मा मारिए।

२०७२ भदौ ३ मा उस्तै शैलीमा कुमार घैँटे भनिने कुमार श्रेष्ठ मारिए। दुवै अप्रेसन तत्कालीन उपत्यका अपराध अनुसन्धान महाशाखाले गरेको थियो। त्यसपछि भत्किएको संगठित गुन्डागर्दी काठमाडौंमा फर्किएन। गणेश लामा, दीपक मनाङे अनि चक्रे मिलन लगायतकाहरु चोला फेरेर नेता बने। अपहरण र हत्यामा संलग्न रहेर फरार रहेका मनोज पुन पनि मारिए।

यसपछि इन्काउन्टरकोक्रम केही मत्थर भयो तर फाट्टफुट्ट गोली हानेर समात्ने घटना भइरहे। पछिल्लो समय भने योक्रम सङ्ख्यात्मक रूपमा पुन ब्युँतिएको देखिन्छ।

किन हुन्छन् यस्ता अप्रेसन ?

गोली चलेका सबै बनावटी घटना हुन्नन्। तर घटनाको शैली र प्रहरीले गर्ने दाबीका आधारमा पछिल्ला गोली प्रहार र पक्राउको घटना परिस्थितिवश भन्दा पनि नियोजित देखिन्छ। यसमा अदालतको लामो प्रक्रिया र कानुनी छिद्रबाट अपराधी उम्किन सक्छ भन्ने आम धारणा बन्दै गएको बेलामा प्रहरीले इन्काउन्टर वा गोली हानेर समात्दा सर्वसाधारणबाट तत्कालै प्रहरीले राम्रो काम गर्यो भन्ने प्रतिक्रिया आउँछ।

यही सस्तो लोकप्रियता र 'सेलिब्रेटीबन्ने होडले गर्दा कतिपय प्रहरी अधिकारीहरू सामान्य रूपमा पक्राउ गर्न सकिने घटनालाई पनि नाटकिय बनाउँदै गोली चलाउने चरणमा पूर्याउँछन्।

प्रहरी सङ्गठनभित्र कठिन र जटिल अपरेसन सफल पार्ने कमान्डर वा टोली 'हाइलाइट' हुने नै भए। फरार वा 'वान्टेडसूचीका अभियुक्तलाई गोली नै हानेर नियन्त्रणमा लिएको घटनालाई सङ्गठनभित्र ठूलो बहादुरीको रूपमा व्याख्या गर्ने र मिडियामा पनि बढी कभरेज पाइने हुँदावृत्ति-विकास मा 'क्रेडिटलिने र कार्यसम्पादन मूल्याङ्कनमा अगाडि पर्ने रणनीतिमा पनि यस्ता घटना हुने गरेको देखिन्छ।

कानुनी रूपमा प्रहरीले अभियुक्तले आक्रमण गर्न खोजेकोहतियार खोस्न खोजेको वा आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको भन्ने कागजात तयार पारेपछि त्यसलाई चुनौती दिन गाह्रो हुन्छ।

कुमार घैँटे इन्काउन्टर स्थल।प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा गोली चलाउनुपरेको भन्ने एउटा रेडिमेड स्क्रिप्ट हुने र घुँडामुनि गोली लाग्दा अभियुक्तको ज्यान पनि जोगिने भएकाले कानुनी कारबाहीबाट जोगिन सजिलो हुन्छ। यही सुरक्षा कवचका कारण गोली चलाउनु नपर्ने ठाउँमा पनि यो हतियार प्रयोग गरिन्छ।

प्रहरी नेतृत्व वा राजनीतिक नेतृत्वबाट जसरी पनि नतिजा चाहियो भन्ने चर्को दबाब हुँदा फिल्डमा खटिने टोली अति-आक्रामक बन्न पुग्छन्।

अभियुक्तलाई सहजै नियन्त्रणमा लिन सकिने अवस्थामा पनि यो त निकै खतरनाक अपराधी हो र यसलाई यसरी नै साइजमा ल्याइएको हो भन्ने देखाउन बल प्रयोग गर्ने रणनीति अख्तियार गरिन्छ।

कुनै एउटा अपराधीमाथि गोली प्रहार गर्दा त्यसले भूमिगत गिरोह वा अन्य अपराधीहरूमा एक प्रकारको त्रास पैदा गर्छ। भाग्न खोजे वा प्रतिवाद गरे प्रहरीले सोझै गोली हान्छ भन्ने सन्देश दिएर मनोवैज्ञानिक रूपमा दबाउन पनि प्रहरीले योजनाबद्ध रूपमै गोली चलाउने गरेको देखिन्छ।

कीर्तिपुरको घटना के हो ?

गत वैशाख २३ गते दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या भएको थियो।

प्रहरीका अनुसार हत्या गर्ने र मारिने व्यक्तिहरू साथी–साथी नै थिए। उनीहरूबीच आपसी विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। हतियार प्रहारबाट घाइते भई भुईँमा ढलेका घिमिरेलाई कीर्तिपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसअघि नै तीन जना पक्राउ, कर्तव्य ज्यानमा अनुसन्धान

यो घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले वैशाख २३ मा तीन जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर–९ भाजंगल बस्ने महेन्द्र शाह (२५ वर्ष), कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने रवीन्द्र धामी (२३ वर्ष) र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर–८ सिनेमा हल बस्ने रोशन विष्ट (२२ वर्ष) लाई पक्राउ गरेको थियो।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।घटनास्थलको सीसीक्यामेरा फुटेजमा ६ जनाको समूह देखिएको र तीमध्ये एक जना विपिनको हत्या भएको थियो। हत्याका मुख्य अभियुक्त शाही भने घटना लगत्तै फरार थिए।

वैशाख ३१, २०८३ बिहीबार २२:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।