उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव नियुक्त
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्।
बिहीबार श्रममन्त्री दीपक कुमार शाहलाई वालेन्द्रले बर्खास्त गरेसँगै श्रम मन्त्रालय खाली भएको थियो।
त्यसअघि चैत १३ गते अमरेश कुमार सिंहलाई उद्योग मन्त्रालय दिँदा उनले आफूलाई परराष्ट्र मन्त्रालय मागेपछि अन्तिम समयमा उनी शपथ मन्त्री नियुक्त नभई प्रधानमन्त्रीले नै उक्त मन्त्रालयको नेतृत्व गरेका थिए।
अहिले नियुक्त भएका दुवै मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।
प्रधानमन्त्री शाहको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नवनियुक्त मन्त्रीद्वयको आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
लामो समयदेखि रिक्त रहेका वा कार्यभार सम्हालिरहेका मन्त्रालयहरूमा रास्वपाका तर्फबाट नयाँ मन्त्रीहरू नियुक्त भएसँगै सरकारको कार्यसम्पादनमा थप गति आउने अपेक्षा गरिएको छ।
चैत २७, २०८२ शुक्रबार १४:२८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।