कालो धनमा भट्ट टिमै छानबिनमा, हिमालयन रिइन्स्योरेन्स र जगदम्बा हिट लिस्टमा
काठमाडौं : सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानको दायरामा रहेका दीपक भट्टको अनुसन्धानकोक्रममा हिमालयन रि इन्स्योरेन्सका बोर्ड सदस्य र जगदम्बा स्टिल्सका सञ्चालक समेत तानिने भएका छन्।
भट्टबारे अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई दिएको जानकारी अनुसार हिमालयन रिइन्योरेन्ससँगै हिमालयन सेक्युरिटिज, नेपाल लाइफ इन्स्योरेन्स, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स समेत अनुसन्धानको दायरामा छ।
स्रोतले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरण विभागले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा २० भन्दा बढी अभियुक्तहरू हुनसक्ने देखिएको छ। यसमा भट्टसहितका अन्य उद्योगी र व्यापारी र उनका पारिवारिक सदस्य समेत छन्।
हिमालयन रिइन्स्योरेन्सको बोर्डमा रहेका सबै अनुसन्धानको दायरामा छन्। केहीसँग बयानसमेत लिइसकिएको विभाग स्रोतले बतायो। बोर्डको अध्यक्षमा शेखर गोल्छा थिए। उनले चैत ८ मा पदबाट राजीनामा दिएका थिए।
अन्यमा भट्टको मुख्य सहयोगी शंकर समूहका सञ्चालक साहिल अग्रवाल हिमालयन रिइन्स्योरेन्सको बोर्डमा छन्। अन्यमा रोहित गुप्ता, अमित मोर, राजीव मोर, सुवेच्छा खरेल, सुवास झुनझुनवाला सदस्य छन्।
अवैध रूपमा ४५ करोड दिएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको जगदम्बाको अध्यक्षमा साहिल अग्रवाल रहेका छन्। २०७८ मा जगदम्बाले दीपकको खातामा ४५ करोड दिएको घटनापछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनुसन्धान सुरु गरे पनि राजनीतिक प्रभावका आधारमा उनी अनुसन्धानको दायरामै आएका थिएनन्।
सत्तामा पहुँचको प्रभावले उनी गम्भीर वित्तीय अपचलनमा संलग्न रहेको प्रमाणहरू संकलन हुँदा पनि औपचारिक अनुसन्धानका लागि नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले एक अर्कामा जिम्मेवारी पन्छाउँदै आएका थिए।
जेनजी आन्दोलनसँगै सत्ता बदलिएर अर्थमन्त्रीमा रामेश्वर खनाल आएपछि उनले भट्टबारे अनुसन्धान अगाडि बढाउन निर्देशन दिए। फागुन २१ को निर्वाचनबाट सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि अनुसन्धानले औपचारिक आकार लियो। विभागले सोमबार भट्टको राहदानी कालोसूचीमा राख्न लगायो।
यो बिचमा भट्टले हिमालय रिइन्स्योरेन्सबाट २ अर्ब ७३ करोड रकम लिएको खुल्यो। उनले हिमालयनका सहायक कम्पनीहरू हिमालयन सेक्युरिटिजबाट २२ करोड, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३३ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड गरेर विभिन्न मितिमा ३ अर्ब ८१ करोड ४६ लाख रकम निकालेर भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट सेयरहरू किनेको समेत खुल्यो।
यी सबै कम्पनी भट्ट र शंकर समूहको प्रभावमा रहेकाहरु हुन्। उनीहरुले मुख्य रुपमा हिमालयन रिइन्स्योरेन्स खोलेर अन्य सहायक कम्पनीमार्फत वित्तीय लुट मच्याएका थिए।
स्रोतका अनुसार उनीहरुले हिमालयन रिइन्स्योरेन्सको प्रतिस्पर्धी कम्पनी नेपाल रिइन्स्योरेन्सको बहुमत सेयर आफ्नो नाममा ल्याउन आफू संलग्न कम्पनी र त्यसका सहायक कम्पनीको रकम दुरुपयोग गरेको खुलेको छ। त्यसमा उनीहरुलाई भृकुटी स्टक ब्रोकर कम्पनीले अनधिकृत रुपमा सघाएको अनुसन्धानमा खुलेको छ। भृकुटीमार्फत नेपाल रिइन्स्योरेन्सको करिब तीन अर्ब बराबरको सेयर भट्टले किनेको अनुसन्धानमा खुलेको छ।
अनुसन्धानमा भृकुटीको गतिविधि समेत शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले यसबारे समेत अनुसन्धान गरेको छ। यो समूहमा सुलभ अग्रवाल, उनको श्रीमती सुभी अग्रवाल समेत जोडिएका छन्। यी दुबै शंकर समूहकै सदस्य हुन्।
अनुसन्धानकोक्रममा उनले सम्पत्ति शुद्धीकरणसँगै बैंकिङ कसुर र बीमा सम्बन्धी कानुनहरू समेत उलङ्घन गरेको देखिएपछि अहिले विभागले यीनै कसुरहरूमा उनी विरुद्ध मुद्दा लैजाने तयारी गरिरहेको छ।
सम्बन्धित समाचार
चैत १८, २०८२ बुधबार १८:४२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।