एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौं : एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' निर्विरोध निर्वाचित भएका छन्।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।

इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए। यद्यपि, सुहाङले आफ्नो उम्मेदवारीका लागि प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्।  

पूर्वमाओवादी नेतासमेत रहेका बादल मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि समानुपातिक सूचीमा रहेका बादललाई दलको नेता बन्ने अवसर जुरेको हो। भर्खरै सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको छ।

चैत १८, २०८२ बुधबार १७:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।