इनिसा मृत्यु प्रकरणको अभियोग पत्र र आदेशको चिरफार : सिआइबीको प्राविधिक रिपोर्ट छाडेर सरकारी वकिलको एक शब्दले बदलिएको अभियोग
काठमाडौं : १६ वर्षकी इनिसा विकको बलात्कार घटनाबारे प्रहरीको अनुसन्धान हुँदै जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतबाट अदालतमा दायर भएको अभियोग पत्रमा घटनाका चार प्रतिवादीमाथि समान रूपमा बलात्कार र ज्यान मारेको अभियोग लगायो।
त्यही अभियोग पत्रको आधारमा मंगलबार जिल्ला अदालतले पनि चारै जनाको हकमा समान प्रकृतिको आदेश दिँदै पुर्पक्षमा सबैलाई बाल सुधार गृहमा पठायो।
बाल सुधार गृहमा पठाउनुको कारण हो अभियुक्त सबै नाबालिग रहनु। इनिसा पनि नाबालिगै थिइन्। घटनामा संलग्न देखिएका ‘वीरेन्द्रनगर प’ (नाबालिग भएकाले पहिचान लुकाउन अनुसन्धानकाक्रममा दिइएको साङ्केतिक नाम) लाई पुर्पक्षमा पठाउनुपर्ने आधार र कारण पर्याप्त देखिन्छ।
तर बाँकी तीन नाबालिगको हकमा भने अभियोग पत्रमा उनीहरू घटनास्थलमा गएको बाहेक बलात्कार र हत्यामा संलग्न रहेको पर्याप्त प्रमाण देखिन्न।
तर अदालतले उनीहरूलाई घटनास्थलमा गएको स्वीकार गरेको, मुख्य आरोपी नाबालिगसँग फोनमा सम्पर्क भएको, घटनास्थलमा पुगेपछि तत्काल प्रहरी वा गाउँलेलाई जानकारी दिने प्रयास गरेको नदेखिएको र मृत्युको कारण करणीकाकारण यौनाङ्गमा गहिरो घाउँहुँदा भएको रक्तस्राव देखिएको भन्दै पुर्पक्षमै पठाउने आदेश आयो।
अदालतले घटनापछि प्रहरी वा गाउँलेलाई जानकारी नदिएको भनिए पनि साढे ९ बजेतिर चारमध्ये एक जनाले आएर एक जना बेहोस अवस्थामा छन् उद्दार गरिदिनुपर्यो भनेको घटना रहेको वनका पाले रामबहादुर दमाइको बयान अभियोग पत्रमै छ।
अभियोग पत्र अनि अदालतबाट थुनछेक बहसपछि आएको आदेश दुवैको प्रकृति हेर्दा ‘वीरेन्द्रनगर प’ घटनामा संलग्न रहेकोमा कुनै विवाद देखिन्न। उनले बयानमा सहमतिमा यौन सम्बन्ध राख्न गएको दाबी गरेका छन्।घरबाट जंगलको एकान्तस्थानसम्म दुवै कुनै झैझगडा नगरी पुगेको घटनाको प्रकृतिले घटनास्थलसम्म जान जोरजबर्जस्ती भएको देखाउँदैन।
तर पोस्टमार्टम रिपोर्टको प्रतिवेदनले भने सहमतिमै यौन सम्बन्ध भएको र त्यसबाट दुर्घटनावश अधिक रक्तस्राव भएर इनिसाको मृत्यु भएको जस्तै देखाउँदैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भमा प्रेमी भनिएकालाई बलात्कारमा मुख्य अभियुक्त र अन्य तीन जना मतियारको रूपमा संलग्न नदेखिएको भनेर अनुसन्धानको प्रस्तावित राय बुझाएको थियो।
तर अदालतमा अभियोग पत्र दर्ता हुँदा सरकारी वकिलले 'तर अन्य प्रमाणले' भन्दै राखेको शब्दका आधारमा चारै जनामाथि समान प्रकृतिको अभियोग लगाइयो। आदेश पनि सोही अनुकुल आएको देखिन्छ।
समान अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले टेकेको प्रमाणहरूमा प्रहरीको अनुसन्धान एकातिर देखिन्छ भने अभियोग पत्रमा सरकारी वकिलले लिएको तर्क अर्कोतिर।
प्रहरी अनुसन्धानमा घटनाको समयमा पाँच जना एकै ठाउँमा देखिदैनन्, तीन जना पछि गएको देखिन्छ। तर प्राविधिक अनुसन्धानलाई सरकारी वकिलले तर अन्य प्रमाणले संलग्न नरहेको भन्न नसकिने भन्दै सामुहिक बलात्कार भएको दाबी गर्यो।
अदालतले जे कारण पुर्पक्षमा पठाउने आधार टेकेको छ त्यसले बलात्कारमै संलग्न भन्दा घटनाक्रमलाई टेकेको देखिन्छ।
किनकि अभियोग पत्रमा समावेश बयानहरू, घटनाको प्रकृति, इनिसाको बलात्कार भएको सम्भावित समय र उनको मृत्युपछि अभियुक्त बनाइएका चारै जनाको उपस्थिती र व्यवहारको तथ्यहरूले समेत यसलाई सामूहिक बलात्कार देखाउँदैन।
तर प्रेम, भेटघाटदेखि सहमतिमा यौन सम्बन्धका लागि जङ्गलमा गएका जति पनि घटना विवरणहरू छन् अनि जुन प्रकृतिको पोस्टमार्टम रिपोर्ट छ त्यसले यो सहमतिमा यौन सम्बन्ध राख्नेक्रममा एक्कासि युवतीको शारीरिक स्वास्थ्य बिग्रिएर भएको मृत्यु हो भन्ने भने देखाउँदैन। निकै हिंश्रक यौन सम्बन्धबाट अधिक रक्तश्राव भएको देखाउँछ।
घटनाको प्रारम्भदेखि अभियोगसम्म
चैत २३ गते बिहान इनिसा ट्युसनका लागि बिहान ७ बजे घरबाट बाहिर निस्किएकी थिइन्। साढे नौ बजेतिर उनी जनजागरण सामुदायिक बनमा मृत फेला परिन्। त्यसपछि घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परे। ती चारै जना कतै भागेका थिएनन्।
यसका मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ इनिसाको शव नजिकै उभिएर रहेको अवस्थामा नै प्रहरीले पक्राउ गरेको देखिन्छ। अन्य तीन नाबालिगहरू शवभन्दा केही पर उभिएर रहेका थिए। अर्थात् उनीहरू घटनापछि कतै भागेका थिएनन्।
इनिसालाई अस्पताल पुर्याउँदा पहिल्यै उनको मृत्यु भइसकेको पुष्टि भएपछि उनको परिवारको तर्फबाट जाहेरी परेको थियो। यो बलात्कार घटना हो या सामूहिक बलात्कार भन्ने विवाद कायमै थियो। इनिसाका बुबाले आफ्नो जाहेरीमा चारै जना बालकहरू (परिवर्तित नाम वीरेन्द्रनगर प, न, ध र फ) ले छोरीलाई घरबाट लिन आएको र उनीहरू मिलेरै जवर्जस्ती करणी गरी हत्या गरेको आरोप लगाएपछि यो सामूहिक बलात्कारतर्फ मोडिएको देखिन्छ।
यसमा प्रतिवादी 'प' ले मृतक र आफू प्रेमी-प्रेमिका रहेको र उक्त दिन जनजागरण सामुदायिक वनमा मृतकको सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी गरे। उनले शारीरिक सम्बन्धको क्रममा मृतकको योनीबाट अत्यधिक रगत बगेर उनी बेहोस भएको र त्यसपछि मात्र आफूले अन्य साथीहरू (न, ध र फ) लाई उद्धारका लागि बोलाएको दाबी गरे।
अन्य तीन जना बालकहरू (वीरेन्द्रनगर न, ध र फ) ले आफूहरू 'प' को फोन आएपछि मात्र घटनास्थलमा पुगेको र आफूहरूले करणी वा हत्या नगरेको बयान दिए।
घटनाको विवरण कागज गर्ने ललिता वि.क. ले बिहान 'प' र मृतक हात समातेर जंगलतर्फ जाँदै गरेको देखेको उल्लेख गरेकी छन्। अन्य स्थानीयहरूले 'प' लाई मृतकको शव नजिकै रगत लतपतिएको अवस्थामा देखेको तर अन्य तीन जना केही पर उभिएको अवस्थामा फेला पारेको बताएका छन्।
घटनास्थलमा करणी गर्न प्रयोग भएको जस्तो देखिने रगत लागेको एउटा कन्डम र झोलामा अन्य कन्डमहरू फेला परे। अभियोग पत्रमा चारै जनालाई प्रतिवादी बनाएर "जवर्जस्ती करणी गरी ज्यान मारेको" मुद्दा दर्ता गरियो। यद्यपि, मुख्य प्रतिवादी 'प' को बयान र अन्य बालकहरूको बयान अनुसार 'प' ले मात्र करणी गरेको र अरूहरू पछि उद्धारका लागि पुगेको देखियो।
प्रहरीले पनि अनुसन्धानको प्रस्तावित राय र सुझावमा मुख्य अभियुक्तमाथि बलात्कार र हत्यामा र अन्यलाई मतियारमा मुद्दा प्रक्रिया अगाडि बढाउन सुझाव दिएको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्रमा एक शब्द थपेर यसलाई सामूहिक बलात्कार हत्याको दाबीसहित अभियोग पत्र दर्ता गरे।
घटनास्थलमै कि घटनापछि पुगे तीनजना ?
घटनास्थलमा यौन सम्बन्ध राख्न प्रयोग भएको रगत लागेको एउटा कन्डम र झोलामा नखोलिएका ३ थान कन्डमहरू फेला परेका थिए। घटनास्थलमा जमिन मडारिएको र संघर्ष भएको जस्तो देखिएको अभियोग पत्रमा उल्लेख छ।
मुख्य प्रतिवादी 'वीरेन्द्रनगर प' को शरीर र लुगामा रगत लागेको अवस्थामा फेला पारिएको थियो। उनले सुरुमा 'मर्निङ वाक' मा आएको बेला मृतक बेहोस भएको दाबी गरे पनि पछि शारीरिक सम्बन्धको क्रममा रगत बगेर मृत्यु भएको बयान दिए।
इनिसाको शवको प्रकृति हेर्दा यौनीबाट अत्याधिक रगत बगेको, शरीरका विभिन्न भाग (छाती, ढाड, हात, खुट्टा) मा नीलडामहरू देखिएको र कपडाहरू खोलिएको अवस्थामा फेला परेको थियो।
यो अभियोग पत्रमा बयान र अन्य विवरणसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कल रेकर्ड र नजिकैको सिसिटिभीको फुटेजको आधारमा बनाएको टाइम टेबलले घटनामा चारै जना संलग्न रहेको भने देखाउँदैन।
यसमा बिहान करिब ५:०० - ६:०० बजेको आसपासमा प्रतिवादी 'प' र मृतक 'क५३' बिच ह्वाट्सएप मार्फत कुराकानी भएको देखियो। 'प' ले मृतकलाई घर नजिकैको बाटोमा भेट्न बोलाएको खुल्यो।
बिहान ७:०० बजेदेखि ८:३० बजेसम्मको अवधिमा प्रतिवादी 'प' र मृतक जनजागरण सामुदायिक वनको एकान्त स्थानमा पुगेको देखिन्छ। मुख्य प्रतिवादीका अनुसार करणीको क्रममा रगत बगेर मृतक बेहोस भएको समय यही हो।
बिहान ८:३० बजेपछिको समयमा प्रतिवादी 'प' ले आफ्नो मोबाइलबाट अन्य साथीहरू (न, ध र फ) लाई फोन गरी घटनास्थलमा बोलाएको देखिन्छ। यसमा कल रेकर्डसँगै नजिकै उपलब्ध रहेका क्लोज सर्किट टेलिभिजनको फुटेजहरूको समेत विश्लेषण गर्दा अन्य तीन नाबालिगहरू साँढे आठ बजेपछिको अवस्थामा निकै हतारिएर घटनास्थलतर्फ गएको देखिन्छ।
सिडिआरले यो समयमा 'प' को मोबाइलबाट अन्य तीन जनालाई लगातार फोन गएको देखाउनुले 'प'सहित अन्य तीन नाबालिगहरू सँगै इनिसासँगै जंगल गएको देखाएन। यसले घटना भएपछि मात्र उनीहरूलाई बोलाएको देखिन्छ।
सामूहिक बलात्कार नदेखाउने सिआइबीको रिपोर्ट
इनिसा मृत्यु घटना राष्ट्रिय विषय बनेपछि अनुसन्धानमा स्थानीय प्रहरीलाई सघाउन केन्द्रीय अनुसन्धान ब्युरोबाट विशेष टोली पुग्यो। सो टोलीले मुख्यगरी आरोपीहरूको अवस्थाबारे डिजिटल अनुसन्धान गरेको देखिन्छ।
अभियोग पत्रमा समावेश ब्युरोबाट खटिएको टोलीले पेस गरेको प्रतिवेदन अनुसार मुख्य अभियुक्त देखिएका "वीरेन्द्रनगर प" ले फागुन २३ गते ४:३२ मा इनिसालाई लाई गुड मर्निङ मेरी मायालु भनेर ह्वाट्सएपमा सन्देश पठाएको देखिन्छ।
त्यसपछि बिहान ५:३७ मिनेटमा उनी एक्लै झोला बोकेर मंगलगढी चोकतर्फ हिँड्दै गरेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहेको सिसिटिभी फुटेजमा देखिएको छ। अर्थात् बिहानसम्म उनी साथीहरूसँग नभई एक्लै देखिएका छन्।
उनले बिहान ६:०१ मा पुन इनिसालाई कुरिरहेको भन्दै ह्वाट्सएपमै मेसेज पठाउँछन्। परिवारको जाहेरी अनुसार उनी बिहान प्रयोगात्मक कक्षाका लागि भनेर घरबाट हिँडेकी थिइन्। बिहान ६:१८ मा यी दुवै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभागको गेट नजिकबाट हिँडेर जाँदै गरेको दृश्य प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभागमा रहेको सिसिटिभी फुटेज फेला परेको छ। अर्थात् यहाँसम्म उनीहरू दुई जना मात्र छन्।
बिहान ६:२६ मा दुबैजना हिँड्दै उत्तर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित जनजागरण सामुदायिक वनतर्फ हिँड्दै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालकै सिसिटिभीमा देखिएको छ। अर्थात् जंगलभित्र जाँदा पनि दुई जना मात्र छन्।
त्यसपछि एक्कासि ८:२१ मा "वीरेन्द्रनगर प" ले आफ्नो मोबाइलबाट नाबालिग "वीरेन्द्रनगर ध" लाई फोन गरेर जम्मा ७६ सेकेन्ड कुराकानी गरेको सिडिआर रेकर्डमा खुल्यो। कल लोकेसन हेर्दा ‘प’ अर्थात् इनिसाको प्रेमीको मोबाइल घटनास्थल वरपर देखियो भने उनको साथीको लोकेसन उनकै घरमा देखियो।
यति मात्रै हैन "वीरेन्द्रनगर ध" नाम दिइएको नाबालिगको घरमा सिसिटिभी रहेकाले त्यसमा समेत उनी त्यो बेलामा घरमै रहेको देखियो। उनको घरको फुटेजमा ८:३४ मा उनले मोबाइलमा कुराकानी गर्दा ‘अल्टर ठाउँमा किन गाको त नि’ भनेको सुनिएको अभियोग पत्रमा उल्लेख छ।
त्यसपछि उनी ९:०३ मा स्कुटर लिएर निस्किए। उनी ९:०७ मा कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थलतर्फ एक्लै जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको सिसिटिभी फुटेजमा देखियो। अर्थात् उनी ९ बजेर ७ मिनेटसम्ममा घटनास्थलमा पुगेको देखिँदैन।
अर्का अभियुक्त बनाइएका नाबालिग "वीरेन्द्रनगर न" र मुख्य अभियुक्तबीच पनि सो दिन पहिलो सम्पर्क मोबाइलमै भएको देखिन्छ। उनीहरुबीच बिहान ९:०२ मा ७९ सेकेन्ड कुरा भएको खुल्यो। त्यसपछि "वीरेन्द्रनगर फ" को घरबाट "वीरेन्द्रनगर फ" र "वीरेन्द्रनगर न" नामकरण गरिएका अभियुक्त बिहान ९:७: बजे सँगै निस्किएको सिसिटिभी फुटेज प्रमाणको रूपमा देखिन्छ।
उनीहरू दुवै दौडँदै गएको सिसिटिभी फुटेजै देखिन्छ। अर्का अभियुक्त "वीरेन्द्रनगर ध" घटनाको दिन बिहान ९:११ मा बजे कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थल तर्फ जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालको सिसिटिभी फुटेज प्रमाणको रूपमा उल्लेख गरिएको छ।
यो अनुमान नभई प्राविधिक अनुसन्धान भएकाले जुन समयमा इनिसाको बलात्कार भएको एकिन गरिएको छ त्यो समयमा अन्य तीन जना नाबालिगहरू घटनास्थलमा भएको देखाउँदैन। जब मुख्य अभियुक्त संकटमा परेर फोन गरेपछि मात्र उनीहरू सहयोगका लागि घटनास्थलतर्फ गएको अभियोग पत्रमा राखिएको कल लोकेसन, कल डिटेल र सिसिटिभी फुटेजले देखाउँछ। यसले सरकारी वकिलको कार्यालयले अभियोजन गर्दा यी प्राविधिक पक्षको बेवास्ता गरेको देखियो।
सहमतिमा सम्बन्ध नदेखाउने शव परीक्षण रिपोर्ट
मुख्य अभियुक्तको बयानसहित उनीहरू अध्ययनरत विद्यालय लगायतका जानकारसहितको बयानले यी दुबैबीच प्रेम सम्बन्ध रहेको देखाउँछ। र बिहान भेटेकोदेखि उनीहरू जङ्गलमा गएको घटनाक्रमसम्मले दुबैजना सहमतिमै जङ्गलमा गएको पनि देखाउँछ। मुख्य अभियुक्तले सहमतिमै यौन सम्बन्ध राख्न थालेको तर एक्कासि रक्तस्राव भएर इनिसा बेहोस भएको दाबी गरेका छन्।
तर पोस्टमार्टम रिपोर्टमा जे विवरणहरू उल्लेख छन् त्यसले यौन सम्बन्ध सहमतिमै भएको देखाउँदैन। इनिसाको शरीरको विभिन्न भागमा चोट देखिनु, यौनाङको भित्रसम्मै गहिरो चोट लाग्नु जस्ता चिकित्सकीय विवरणले दुवै राजीखुसी भएर सम्बन्ध राख्नेक्रममा दुर्घटना भएको देखिँदैन।
चिकित्सकीय प्रतिवेदनमा मृतकको मुटुको भल्भमा रगत खाली भएको, मृतकको बायाँ ढाडको बिचतिर खैरो रातो कोतरिएको चोट रहेको, माथिल्लो ढाडको बीचको भागमा कोतरिएको, माथिल्लो ढाडको बिचमा कोतरिएको चोट रहेको, बायाँ खुट्टाको घुँडा मुनी भित्री भागमा कोतरिएको चोट रहेको उल्लेख छ।
दायाँ खुट्टाको तल्लो भाग पछाडिको भित्री साइडमा कोतरिएको चोट, ढाड र खुट्टामा बाहिरी चोटहरू र घर्षण देखिएको र ती चोटहरू मृत्युको समयमा भएका घाउचोटहरु रहेको उल्लेख छ। दायाँ र बायाँ छातीको माथिल्लो भागमा रातो-निलो रंगका चोटहरू रहेको उल्लेख छ। यसैगरि कम्मर र पिठ्युँको तल्लो भागमा घिसारिएको र छाला खुइलिएको दागहरू रहेको देखिन्छ।
मृतकको कन्याजाली च्यातिएको र छालाको भित्री तहसम्म पुगेको, च्यातिएको चिरा योनीद्वाराको तल्लो भागदेखि मूत्र नलीको अग्रभागसम्म पुगेको, योनीको पछाडिको भित्री पर्खाल पनि च्यातिएर मांसपेशीको गहिरो तहसम्म पुगेको उल्लेख छ।
च्यातिएको चिरा योनी नलीको भित्री भागको पर्खालमा र गर्भाशयको मुख भन्दा २.५ सेन्टिमिटर तल रहेको र यी चोटहरू हालैको यौन सम्पर्कबाट भएको हो उल्लेख गर्दै रिपोर्टमा ती गम्भीर चोटको कारण धेरै रगत बगेर मृत्यु भएको उल्लेख छ।
शव परीक्षण रिपोर्ट अनुसार मृतकको यौन अङ्ग क्षत विक्षत रहेको र अति नै यौन हिंस्रक रूपमा यौन सम्बन्ध राखिएको देखिन्छ। यसले सहज रूपमा सहमतिमा भएको देखिएन।
शरीरको भित्री भागको अवस्थाबारे समेत पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। त्यसमा खप्परको हड्डी सुरक्षित रहेको तर मस्तिष्कको झिल्लीमा केही रगत जमेको उल्लेख छ। करङहरू सुरक्षित रहेको तर फोक्सोमा अत्यधिक रगत जमेको र फुलेको पाइएको उल्लेख छ।
आमाशयमा अर्ध-पाचित खानाका अंशहरू फेला परेको र कलेजो, फियो र मिर्गौलामा रगतको मात्रा बढी देखिएको छ उल्लेख छ। यीनै आधारमा मृत्युको कारण 'जवर्जस्ती करणीका क्रममा भएको अत्यधिक रक्तस्राव र चोटपटक' उल्लेख गरियो।
यौनाङ्ग र शरीरको बाहिरी चोटपटकले सहमतिमा सम्बन्धको प्रयास भएको भन्ने मुख्य अभियुक्तको दाबी कमजोर देखाउँछ। अर्को विवरण हो शरीरको भित्री अवस्था। पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएका ती विवरणहरूबारे उकेराले जानकार चिकित्सकहरूसँग परामर्श गरेको थियो।
परामर्शमा चिकित्सकहरूले शरीरले पर्याप्त अक्सिजन नपाएको अवस्थामा फोक्सो र मस्तिष्कका नसाहरूमा रगतको चाप बढ्ने र ती अङ्गहरू 'कन्जेस्टेड' देखिने जानकारी दिए। मुद्दाको सन्दर्भमा हेर्ने हो भने जवर्जस्ती करणीको क्रममा पीडितको मुख थुनिएको, घाँटी थिचिएको वा गह्रुङ्गो वस्तुले छाती थिचिएको अवस्थामा यस्तो लक्षण देखिने एक चिकित्सकले जानकारी दिए।
जवर्जस्ती करणीका क्रममा हुने कुटपिट र गहिरो चोटका कारण उत्पन्न हुने तीव्र पीडाले शरीरको 'अटोनोमिक नर्भस सिस्टम' मा असर गर्ने र यसले साना रक्त नलीहरू फुल्ने र अङ्गहरूमा रगत जम्ने हुन सक्ने देखियो।
रिपोर्टमा 'अत्यधिक रक्तस्राव' लाई मृत्युको कारण मानिएको छ। जब शरीरको कुनै एक भाग (यौनाङ्ग) बाट तीव्र गतिमा रगत बग्छ, शरीरले बाँकी रहेका महत्त्वपूर्ण अङ्गहरू (मस्तिष्क र फोक्सो) मा रगत पठाउन खोज्दा त्यहाँका झिल्लीहरूमा रगतको चाप बढेर 'कन्जेस्टेड' देखिन सक्ने ती चिकित्सकले जानकारी दिए।
घटनास्थलको प्रकृति र शरीरमा देखिएका नीलडामहरूले मृतकले बच्नका लागि संघर्ष गरेको देखाउँछ। यस्तो शारीरिक संघर्षको बेला मुटुको धड्कन र रक्तचाप अत्यधिक बढ्ने हुँदा सूक्ष्म रक्त नलीहरू फुट्न वा रगत भरिन सक्ने देखियो।
चैत १८, २०८२ बुधबार १६:३८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।